सुन आयातमा उच्च वृद्धि, तीन महिनामा भित्रियो ६०६ किलो
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा सुन आयातमा उच्च वृद्धि भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार, यो तीन महिनामा ६०१ किलो काँचो र करिब ५ किलो सुनका गरगहनासहित कुल ६०६ किलो सुन आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ११३.५ किलो सुन आयात भएको थियो, जसको तुलनामा यो आयात करिब ७ गुणा बढी हो ।
सुनको भाउमा आएको निरन्तर सुधारले लगानीकर्तालाई आकर्षित गर्नुका साथै विदेशी मुद्रा सञ्चितिमा भएको सुधारलाई लगानीतर्फ परिचालन गर्दा आयात बढेको हो ।
बजारमा माग अधिक भएपछि सरकारले दैनिक आयात कोटालाई २० किलोबाट बढाएर २५ किलो पुर्याएको छ ।
चालु आवको पहिलो त्रैमासमा रु १० अर्ब २५ करोड बराबरको काँचो सुन आयात भएको छ, जसबाट सरकारले रु १ अर्ब २ करोड राजस्व आम्दानी गरेको छ ।
यस्तै, रु ७ करोड १५ लाख बराबरको सुनका गरगहना आयातबाट करिब ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
Facebook Comments