जेनजी आन्दोलनमा ध्वस्त ट्राफिक कन्ट्रोल रुम सञ्चालनमा, स्मार्ट सिटी निर्माणमा एनआरएनएको सहयोग
अब काठमाडौंका मुख्य सडकहरू सिसिटिभीको निगरानीमा
 कृष्णबहादुर तामाङ
            
                                        
                            
                            |
                              २ दिन अगाडि
                कृष्णबहादुर तामाङ
            
                                        
                            
                            |
                              २ दिन अगाडि
                             
                                                            काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका छन् ।
मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष श्रेष्ठले उपत्यका प्रहरी प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरेका हुन् ।
७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ । यससँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सिसिटिभी निगरानीमा रहँदै, ट्राफिक व्यवस्थापनमा नयाँ स्तर स्थापित हुने छ ।
एनआरएनए अध्यक्ष श्रेष्ठले यो परियोजना संरचना हस्तान्तरण मात्र नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीक रहेको बताए । उनले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै, एनआरएनएले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका र योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले विश्वका स्मार्ट सहरहरू जस्तै सिङ्गापुर, टोक्यो, लन्डन र दुबईका ट्राफिक प्रणालीबाट प्रेरणा लिएर नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित ट्राफिक व्यवस्थापन र रियल टाइम डेटा मनिटरिङ प्रणाली लागू गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा एनआरएनएका सिइओ रवि किरण अधिकारीले संस्थाले हालसम्म गरेका गतिविधिहरू र आगामी परियोजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे । एनआरएनएले दोस्रो चरणमा मादक पदार्थ सेवन (मापसे) चेकिङका लागि ब्रेथलाइजरहरू हस्तान्तरण गर्ने योजना रहेको पनि जनाइएको छ ।
कार्यक्रममा एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित ‘स्मार्ट सिटी’ अवधारणामा लैजानुपर्नेमा जोड दिए । उनले ट्राफिक व्यवस्थापन सिर्फ प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण सरोकारवालाको सामूहिक दायित्व भएको स्पष्ट पारे । करिब ४० दिनको निरन्तर प्रयासपछि सम्पन्न कन्ट्रोल रुम हस्तान्तरणपछि उनले ट्राफिक म्यानेजमेन्टको ‘फोर ई’ सिद्धान्त (इन्जिनियरिङ, एजुकेसन, इन्भायरनमेन्ट र इन्फोर्समेन्ट) को विस्तृत व्याख्या गर्दै नेपाल प्रहरीले अब प्रविधिमार्फत ‘फेसलेस’ कारबाही प्रणालीमा जाने लक्ष्य राखेको बताए ।
एआईजी कार्कीले नेपालमा सवारी दुर्घटनामा मानवीय क्षतिको भयावह तथ्याङ्क प्रस्तुत गर्दै कुल मृत्युको ४४ प्रतिशत मोटरसाइकल प्रयोगकर्ता र ४२ प्रतिशत पैदल यात्री भएको उल्लेख गरे । जसले कुल मृत्युको ८६ प्रतिशत हिस्सा ओगट्छ । उनले सार्वजनिक सवारी साधनका चालकहरूले मादक पदार्थ सेवन गरेर आम नागरिकको जिउ ज्यानसँग खेलवाड गर्नु स्वीकार्य नभएको स्पष्ट पारे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कन्ट्रोल रुमको पुनर्निर्माणले राजधानीको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । सवारी साधनको अत्यधिक चाप र साँघुरा सडकहरूको कारणले गर्दा ट्राफिक प्रहरी कर्मचारीहरूलाई भौतिक रूपमा बढी खटिनुपर्ने अवस्थाको समाधानमा कन्ट्रोल रुमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
एनआरएनएका उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक ‘मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले जेन जी आन्दोलनपछि क्षतिग्रस्त संरचनाहरूको अध्ययन गर्दा, सडक सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणमा सहयोग गरिएको बताए । सह–संयोजक रश्मि थापा मगरले छोटो अवधिमै गुणस्तरीय काम सम्पन्न गर्न प्रयास गरिएको तर दशैँ–तिहारजस्ता पर्वका कारण केही समय लागेपनि परियोजना उच्च मापदण्ड अनुसार सम्पन्न भएको जानकारी दिइन् ।
ट्राफिक कन्ट्रोल रुमको हस्तान्तरणसँगै काठमाडौं उपत्यकामा प्रविधि र मानव संसाधनको संयोजनले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ नयाँ युगको सुरुआत गरेको छ । अब मुख्य सडकहरू वास्तविक समय (रियल टाइम)मा निगरानीमा रहने भएकाले, डिजिटल प्रणालीमार्फत सहज र वैज्ञानिक ट्राफिक व्यवस्थापन सम्भव भएको छ । यसले उपत्यकामा जनसुरक्षा, दुर्घटना न्यूनीकरण र यातायात सहजता सुनिश्चित गर्ने मार्ग खोलेको छ ।


 
                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                    
Facebook Comments