पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गर्दै भीरकोट नगरपालिका
मेयरसाप डेस्क
|
१८ घण्टा अगाडि
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाले निर्माण थालेको हो ।
सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण गरिने भएको विभागका इञ्जिनियर अच्युत पौडेलले जानकारी दिए ।
‘आयआर्जनको स्रोतको रुपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ’, उनले भने, ‘त्यहाँसम्म पुग्न पक्की पहुँच मार्ग निर्माण गरिने छ । सबै काम पूरा गर्न १२ करोड ८० लाख विनियोजन गरिएको छ ।’
आगामी फागुन सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तलाउमा निर्माण गरिएको मन्दिरमा शिवपार्वती र गणेशको मूर्ति प्रतिस्थापन गरिने छ ।
Facebook Comments