विश्वकप लिग–२ः नेपाल यूएईसँग ५ विकेटले पराजित

रोहितको शतकले टारेन नेपालको हार

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rohit-vs-usa2025-8pjc6mvn5h.jpg

काठमाडौं ।  आईसीसी विश्व क्रिकेट लिग २ मा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा नेपाललाई यूएईले ५ विकेटले हराएको हो । 
 नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३.३ ओभरमा २३७ रन बनाएको हो। यूएईलाई जित दिलाउन ओपनर आर्यांश शर्माले ९८ र एलिशान शराफुले ४५ रनको योगदान गरे।

शोयब खान शून्य रनमा समेटिँदा रिटायर्ड हर्ट राहुल चोपडाले १५, मुहम्मद वसीमले २६ रनको योगदान गरे भने हर्षित कौशिकले १३ रन जोडे। नटआउट रहेका ध्रुव पराशरले १६ र जाहिद अलीले ६ रन बटुले। नेपाली बलरले १३ अतिरिक्त रन दिएका थिए। 

बलिङतर्फ सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।  दुबईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन मात्र बनाएको थियो। 

नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । रोहितले १३० बलमा १०९ रनको योगदान दिए । आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, करन केसी १३, र सोमपाल कामी ६ रनमा आउट भए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

यूएईका लागि जुनैदले ३ विकेट झार्दा मुहम्मद रोहिद र हैदर अलीले समान १ विकेट लिए। यता जाहिद अलीले सर्वाधिक ४ विकेट आफ्नो नाममा गर्दा ध्रुव पराशरले विकेट लिन सकेनन्।

दुबईमा नेपाल, अमेरिका र यूएईबीच लिग २ को खेल भइरहेको हो। यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।


Facebook Comments