मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/makalu-base-camp-trek.jpg

सङ्खुवासभा । मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक इटालियन नागरिक खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन् । मकालु आधार शिविरभन्दा केही माथि पुगेपछि इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन् । 

लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका इटालियन नागरिक नोभासको मङ्गलबारदेखि उद्धार  हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । उनको उद्धारको पहल भइरहेको उनले बताए । सङ्खुवासभाको उच्चहिमाली भेगमा मङ्गलबारदेखि निरन्तर वर्षा र हिमपात भइरहेको छ । 

“उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ, प्रतिकूल मौसमले कठिनाइ भइरहेको छ”, प्रहरी नायब उपरीक्षक मैनालीले भने । लगातारको वर्षा र उच्चहिमाली भेगमा भइरहेको हिमपातका कारण चार हजार मिटरभन्दा माथिको क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । 


Facebook Comments