डेडिकेटेड फिडर विवाद समाधान गर्न उद्योग परिसंघको आग्रह
विवाद समाधान नभएकोमा चिन्ता
मेयरसाप डेस्क
|
२ दिन अगाडि
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विद्युत् महसुल विवाद तत्काल समाधान गर्न सरकार र उद्योगीहरूलाई संवाद र वार्तामा बस्न आग्रह गरेको छ ।
लामो समयदेखि गिजोलिएको यो विवादले गर्दा हाल ६ ठूला उद्योगसहित २५ उद्योगको विद्युत् आपूर्ति काटिएको र यसले उत्पादन तथा लगानीको वातावरणमा नकारात्मक असर पारेको परिसंघले जनाएको छ ।
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण रहेको र उद्योगहरू न्यून क्षमतामा चलिरहेको अवस्थामा लाइन काट्दा श्रमिकहरू मारमा परेको परिसंघको भनाइ छ ।
परिसंघले यसअघि नै सुझाव दिएअनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि विवाद समाधान नभएकोमा चिन्ता व्यक्त गरेको छ ।
परिसंघले तत्काल वार्ता संवादमा बस्न सरकार र उद्योगीहरूलाई आग्रह गर्दै आवश्यक परेमा सहजीकरण गर्न तयार रहेको जनाएको छ ।
Facebook Comments