ट्रक हिलो सडकमा फसेपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध
निरन्तर वर्षाले ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
नवलपरासी । निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल–नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड आज साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।
केही दिनदेखिको वर्षाका कारण हिलो र चिप्लो हुँदा एकतर्फी सञ्चालन भएको सडकमा मालवाहक ट्रक फसेपछि आवगमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दाउन्नेको घ्यू खोला नजिकै मालवाहक ट्रक हिलो सडकमा फस्दा आज साँझदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।
शुक्रबार रातिदेखि दाउन्ने सडक हिलोका कारण चिप्लो भई सवारीसाधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो । गएरातिदेखि सडक एकतर्फी रूपमा सञ्चालन हुँदा जाममा रहेका सयौँ सवारी थप समस्यामा परेका छन् । अहिले पनि दाउन्ने क्षेत्रमा वर्षा भइरहेकाले सडकमा फसेको ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए। बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।
Facebook Comments