शुक्लाफाँटामा छाडा चौपाया केन्द्रले बढायो माटोको उर्वराशक्ति

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/urbara-sakt.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक (जैविक) मल वितरण गर्न थालेपछि स्थानीय कृषि उत्पादन र माटोको उर्वराशक्तिमा उल्लेख्य सुधार देखिएको छ ।

नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको उक्त केन्द्रमा हाल करिब चार सयभन्दा बढी पशुचौपाया राखिएका छन् । यी चौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराइँदैछ ।

वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार किसानलाई अहिले प्रतिट्याक्टर रु चार हजार ५०० मा प्राङ्गारिक मल उपलब्ध गराइन्छ । वडाले रासायनिक मलको असर र प्राङ्गारिक मलको फाइदाबारे किसानलाई निरन्तर सचेतना दिइरहेको छ ।

पराल दिने किसानलाई भने निःशुल्क मल वितरण गर्ने व्यवस्था गरिएको छ । “एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही परिणाममा निःशुल्क मल दिन्छौँ,“ वडाध्यक्ष ऐरले भने । यसले केन्द्रलाई पराल खरिद खर्च घटाउनुका साथै परालको आपूर्ति सहज बनाएको छ ।

आलुखेतीमा संलग्न किसान लालबहादुर ऐर र भागिराम चौधरीले प्राङ्गारिक मलको प्रयोगपछि माटोको गुणस्तरमा सुधार आएको र उत्पादन पनि बढेको अनुभव सुनाएका छन् । चौधरीले माटो फेरि जीवित जस्तो भएको अनुभूति भएको बताए ।

नगरपालिकाको कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरका अनुसार प्राङ्गारिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले नगरपालिकाले दीर्घकालीन योजना बनाई रासायनिक मलको प्रयोग घटाउने र वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

मल बिक्रीबाट प्राप्त रकम वडाको पूर्वाधार विकासमा खर्च गरिने जनाइएको छ ।


Facebook Comments