मकवानपुर जिल्ला फुटबल संघले मिडियालाई भुक्तानी नदिएको आरोप

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2025-11-07-at-80121-am.jpeg

हेटौंडा ।अखिल नेपाल फुटबल संघ (एन्फा) निकट रहेको मकवानपुर जिल्ला फुटबल संघमाथि लामो समयदेखि खेल पत्रकारहरूको भुक्तानी नदिएको आरोप लागेको छ।

हेटौंडाका विभिन्न खेलकुद पत्रकारहरूले स्थानीय प्रतियोगिताका समयमा समाचार लेख्न र फोटो खिच्न गरेको पारिश्रमिक अहिलेसम्म नपाएको बताएका छन्।

हेटौंडा स्पोर्ट्सका प्रधान सम्पादक दिक्षांश खड्काका अनुसार, “स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कवरेज गर्दा पारिश्रमिक दिने भनिए पनि अहिलेसम्म भुक्तानी गरिएको छैन।”

त्यस्तै अन्य मिडियाकर्मीहरूले पनि रकम माग्दा जिल्ला फुटबल संघका पदाधिकारीहरूले आनाकानी गर्ने र ढिलासुस्ती गर्ने प्रवृत्ति देखाएको बताएका छन्। पत्रकार रविन्द्र वाइबाका अनुसार, “प्रत्येक वर्ष खर्च विवरण सार्वजनिक गर्दा मिडियाको भुक्तानी भइसकेको भनेर देखाइन्छ, तर वास्तवमा धेरै पत्रकारले रकम पाएका छैनन्।”

फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य टिका लामा माथि पनि पत्रकारहरूले पारिश्रमिक माग्दा टार्ने र भेट्नै नचाहने आरोप लगाएका छन्। पत्रकार बसन्त न्यौपानेले भने, “गत वर्ष पदाधिकारी आलोक स्याङतानले एक पत्रकारको क्यामेरा तोडिदिँदा पनि त्यसको कुनै कारबाही भएन।”

त्यस्तै खेल पत्रकार विवेक फुयाले भने, “एन्फाको नाममा विदेश भ्रमण गर्न लामा आफ्नै पैसा होइन, मकवानपुर जिल्ला फुटबल संघकै रकम प्रयोग गरेको देखिन्छ ।” 

यस विषयमा मकवानपुर जिल्ला फुटबल संघका पदाधिकारीहरूले भने आधिकारिक प्रतिक्रिया नदिएको बताइएको छ।


Facebook Comments