प्रचण्डको लगानी भन्दै रिसोर्टमा आगजनी गराउने ५ जना पक्राउ
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
पोखरा । जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा २९ वर्षीय रुपक नेपाली, ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीया एलिसा गुरुङ छन् । प्रहरीका अनुसार, उनीहरूमाथि आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले रुपक नेपालीले रिसोर्टमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै भीडको नेतृत्व गरेर तोडफोड र आगजनी गराउन पुगेको प्रमाण फेला परेको छ । उनी पोखरा रंगशालामा प्रशिक्षण पनि दिने गरेको खुलेको छ ।
पक्राउ परेका खड्कबहादुर थापा पोखरा–१८ मा होटल व्यवसाय गर्दै आएका व्यक्ति हुन् । रिसोर्टमा कार्यरत कर्मचारीहरूसमेत तोडफोडमा संलग्न भएको प्रहरीले जनाएको छ ।
उक्त रिसोर्ट लमजुङका ’जितु’ नाम गरेका व्यक्तिको भएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरू जेन–जी आन्दोलनका अभियानकर्ता नभई आपराधिक उपद्रवमा संलग्न भएको प्रहरीको निष्कर्ष छ ।
Facebook Comments