जेन–जी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः अतिरिक्त महानिरीक्षक कार्की

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/img-1-8.jpg

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताएका छन् ।

‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा उनले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।

“गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिसहरु आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो,” उनले भने । जहाँ धेरै मानिसको आवतजावत हुन्छ त्यहाँ धेरै अपराध हुने गरेको उनको भनाइ छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएकामा हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताए । उनले नयाँ भवनबाट प्रहरीले उच्च मनोबलका साथ काम गर्ने विश्वास व्यक्त गरे ।


Facebook Comments