१०० वर्षपछि पुनर्निर्मित जयवागेश्वरीको ब्रह्मा मन्दिर उद्घाटन
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उपप्रमुख सुनिता डंगोलसहित आज वडा नम्बर ८, जयवागेश्वरीको गायत्री मार्गमा रहेको पुनर्निर्मित ब्रह्मा मन्दिरको समुद्घाटन गरेका छन् ।
१०० वर्षभन्दा बढी समयदेखि भग्नावशेष रहेको यो मन्दिरको उत्खनन् र पुनर्निर्माणले प्राचीन सांस्कृतिक पहिचानलाई पुनस्र्थापना गरेको छ । १९९० सालअघि नै भग्नावशेष बनेको अनुमान गरिएको यो मन्दिर छैटौँ वा सातौँ शताव्दीमा निर्माण भएको पुरातत्वविद्हरूको अनुमान छ ।
करिब २०३६ सालमा चोरिएको तर प्रहरीले संरक्षणमा राखेको चतुर्मुख ब्रह्माको मूर्तिलाई कार्तिक १७ गते साइत हेरेर प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा पुनःस्थापित गरिएको थियो ।
आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार रु १ करोड १२ लाख ४५ हजार लागतमा बनेको यो मन्दिर २३.५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ । उत्खनन् गर्दा जगमा ९ वटा कुण्ड भेटिएका थिए, जसले ग्वलःदे क्षेत्रको प्राचीनता र तान्त्रिक महत्त्वलाई पुष्टि गर्दछ ।
उपप्रमुख डंगोलले प्राचीन मूर्ति र कलाकृति पुनरुत्थान गरी सांस्कृतिक सहरको पहिचान स्थापित गर्ने अभियानलाई निरन्तरता दिइने बताइन् । संस्कृतिविद मुकुन्दराज वैद्यले यस पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनस्र्थापना गराउन मद्दत गरेको बताएका छन् ।
Facebook Comments