इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुईवटा विस्फोटमा परी कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
विष्फोट के कारण भएको थियो भन्ने बिषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताए ।
उत्तरी जकार्ताको माध्यमिक तहकोसमेत पढाइ हुने मस्जिद नजिकै रहेको क्याम्पसमा स्थानीय समय अनुसार दिउँसो १२ः१५ बजे विस्फोट भएको राजनीति तथा सुरक्षा उप–समन्वय मन्त्री लोडेविज्क फ्रेड्रिक पाउलसले बताए ।
के भयो र किन भयो भन्ने बारे तत्काल बोल्नु हतार हुने उनले बताए। “यो आतङ्कवादी कार्य हो भन्ने निष्कर्षमा नपुग्नुहोस्,” अन्तारा राज्यको सञ्चार माध्यमले लोडेविज्कलाई उद्धृत गर्दै लेखेको छ।
विस्फोट मस्जिदको पछाडि र विद्यालयको ढोका नजिकै भएको थियो।
जकार्ता प्रहरी प्रमुख एसेप एडी सुहेरीलेपनि बिष्फोटको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए।
“हामीले प्राप्त गरेको प्रारम्भिक तथ्याङ्कले लगभग ५४ जना प्रभावित भएको सङकेत गर्छ,“ कोम्पास टिभीद्वारा प्रसारित टिप्पणीमा पत्रकारहरूसँग एसेपले भने।
उनले भने, “घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको र उनीहरूलाई सामान्य उपचारपछि घर फर्काइएको छ भने केही व्यक्ति अस्पतालमा उपचाररत छन् ।”
Facebook Comments