अछामका चार स्थानीय तह दमकल खरिद गर्दै

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/damkal.jpg

अछाम । लगातार भइरहेको भीषण आगलागीका घटनाबाट ठूलो क्षति हुन थालेपछि जिल्लाका चार स्थानीय तहले संयुक्त रूपमा दमकल खरिद गर्ने तयारी अघि बढाएका छन् ।

साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र बान्नीगढी–जयगढ गाउँपालिकाले आपसी सहकार्यमा विपद् व्यवस्थापनलाई मजबुत बनाउने निर्णय गरेका हुन् ।

हालै जयगढ बजार र साँफेबगरको हाटबजारमा भएको विनाशकारी आगलागीमा करोडौँको क्षति भएपछि दमकलको अभाव खड्किएको थियो । जिल्ला सदरमुकाम मंगलसेनसँग मात्र एक दमकल भए पनि भौगोलिक विकटताले समयमै घटनास्थल पुग्न नसक्ने अवस्था छ ।

साँफेबगरका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरका अनुसार चार पालिका प्रमुखहरूको बैठकले संयुक्त खरिदको निर्णय गरेको हो । साँफेबगर र चौरपाटीले दमकल खरिदका लागि २०–२० लाख रुपैयाँ बजेट छुट्याइसकेका छन् । अन्य दुई पालिकाले पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नगर प्रमुख कुँवरले चालु आर्थिक वर्षभित्रै दमकल खरिद गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । यो सहकार्यले आगलागीजस्ता विपद्मा तत्काल प्रतिकार्य गर्न र धनजनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उनको अपेक्षा छ ।

विगतका आगलागीमा स्थानीय तथा प्रहरीले बाल्टीले खोलाको पानी बोकेर घण्टौँको प्रयासपछि मात्र आगो नियन्त्रणमा लिएका थिए । यो संयुक्त प्रयासलाई अन्य स्थानीय तहका लागि पनि विपद् व्यवस्थापनमा एकताबद्धको सन्देश जाने कुँवर बताउँछन् ।


Facebook Comments