दुर्घटनापछि स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, यातायात ठप्प
प्रहरी र स्थानीयबीच वार्ता जारी
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीमा आइतबार बिहान भएको दुर्घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
तरकारी बोकेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको र अन्य तीन जना घाइते भएको घटनापछि स्थानीय आक्रोशित बनेका हुन् ।
स्थानीय बासिन्दाले दोषी चालकलाई कडा कारबाही र पीडित परिवार तथा घाइतेलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहानैदेखि राजमार्गमा टायर बालेर अवरोध सिर्जना गरेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिमका विभिन्न गन्तव्यका लागि छुटेका सयौं सवारीसाधनहरू साडेपानी क्षेत्रमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराले जानकारी दिए ।
जिपको ठक्करबाट घाइते भएका तीन जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
प्रहरीले दुर्घटना गराउने जिपका चालकलाई भने बिहानै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले राजमार्ग खुलाउनका लागि स्थानीयसँग वार्ता गरिरहेको जनाएको छ ।
Facebook Comments