घरेलु हिं*साका पीडितको सहारा बन्यो बझाङकाे महिला आवास गृह

आवास गृह नहुँदा धेरै महिलाको ज्यान जोखिममा

User Image डीबी विष्ट | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/gharelu-hinsa.jpg

बझाङ । जिल्लामा सञ्चालित महिला आवास गृह (सेफ हाउस) ले घरेलु हिंसा, बहुविवाह र पारिवारिक बेवास्ताका कारण बिचल्लीमा परेका महिला तथा बालबालिकाहरूको जीवन जोगाउन र न्याय दिलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । जिल्लामा आश्रय स्थलको अभावमा हिंसा सहने वा जीवन अन्त्य गर्ने बाध्यात्मक परिस्थितिमा पुगेका महिलाहरूका लागि यो आवास गृह ठूलो सहारा बनेको छ ।

हिंसाका दर्दनाक कथा
बझाङमा महिलाहरूले आफ्नै परिवार र आफन्तबाट हिंसा तथा यातना भोग्नुपरेको अवस्था छ । २३ वर्षीया एक महिलाले श्रीमानको मृत्युपछि घरका सासू–ससुराबाट निरन्तर कुटपिट तथा यातना सहनुपर्‍यो । लामो समय शारीरिक तथा मानसिक यातना सहेर बसे पनि सहन नसकेपछि उनी न्यायको खोजीमा प्रहरीसम्म पुगेकी थिइन् ।

आफ्नै परिवारका सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई सासू–ससुरा तथा आफन्तहरूले झन् बढी यातना दिन थाले । घर न घाटको अवस्थामा पुगेपछि उनले बझाङ सदरमुकाम चैनपुरमा रहेको महिला आवास गृहमा एक महिना शरण लिइन् । जिल्ला प्रहरी कार्यालय बझाङले समन्वय गरी छलफल गरेपछि उनको अनुरोधमा उनलाई माइती घर पठाइएको थियो । यदि यो आवास गृह नभएको भए उनको अवस्था अझै भयावह हुने निश्चित थियो ।

बझाङकै अर्को घटनामा एक पुरुषले बहुविवाह गरी भारतमा कान्छी श्रीमतीसँग बस्न थालेपछि घरमा भएकी जेठी श्रीमतीलाई नाना थरी आरोप, गालीगलौज तथा मानसिक यातना दिन थाले । पुरुषले बारम्बार यातना दिएपछि उनका बाबु–आमासमेत छोराकै पक्षमा लागेर जेठी बुहारीलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक यातना दिन थाले । लामो समयसम्म सहेर बसे पनि यातनाको अझै बढ्दै गएपछि उनी १२ वर्षीया छोरीसहित महिला आवास गृहमा पुगिन् ।

आवास गृहले परिवारका सदस्यहरूलाई बोलाएर छलफल गरायो । हिंसा पीडित महिलाले घर फर्किए ज्यान जोखिममा पर्ने भन्दै छोरीलाई लिएर माइती घर जाने निर्णय गरिन् र अहिले दुवै जना माइतीको शरणमा बसेका छन् ।

सन्तान नभएपछि छिमेकी गाउँकी युवतीसँग दोस्रो विवाह गरेका एक पुरुषले कान्छी श्रीमतीबाट छोरा जन्मिएपछि भने उनलाई पटक–पटक शारीरिक कुटपिट तथा मानसिक यातना दिन थालेको घटना पनि सार्वजनिक भएको छ । अन्तिम विकल्प नलागेपछि उनले पनि महिला आवास गृहमा पुगेर न्यायको लागि गुहार मागिन् ।

उनको श्रीमान् र घरपरिवारका सदस्यहरूलाई प्रहरीमार्फत आवास गृहमा राखेर छलफल गराइयो । आवश्यक छलफलपछि श्रीमान्ले गल्ती स्वीकार गरी माफी मागे र अहिले उनीहरू सँगै मिलेर बसेका छन् । उनी पनि झन्डै तीन हप्ताभन्दा बढी आवास गृहमा बसेकी थिइन् ।

यस्तै, श्रीमानले बारम्बार कुटपिट गरेको पीडा सहन नसकेर महिला आवास गृहमा पुगेकी एक महिलाले दुई महिनाभन्दा बढी आश्रय लिइन् । घर फर्कनुको सट्टा उनी अहिले आफ्ना छोरीहरूसहित जीविकोपार्जन गर्नका लागि भारतमा मजदुरी गर्न थालेकी छिन् । आवास गृह नभएको भए उनले पनि अकालमा ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थिति हुन्थ्यो ।

बझाङकै अर्को घटनामा, बुबाको निधनपछि बाजे–बज्यैले वास्ता नगर्दा र आमाले पनि सासू–ससुराको असह्य पीडाका कारण छोरीलाई छोडेर भारतमा मजदुरी गर्न गएपछि १० वर्षीया एक बालिका सडकमा अलपत्र अवस्थामा थिइन् । महिला आवास गृहले पहल गरेर उनलाई चार महिना आश्रय दियो । पछि उनकी आमालाई सम्पर्क गरी छोरीलाई उनको जिम्मा लगाइयो र अहिले आमा–छोरी दुवै भारतमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् ।

सन्तानको आशामा १७ वर्षीया किशोरीसँग दोस्रो विवाह गरेका एक पुरुषले उनलाई गर्भवती अवस्थामा घरमै छोडेर जेठी श्रीमतीसँग रोजगारीका लागि भारत गए । गर्भवती कान्छी श्रीमती अर्का पुरुषसँग माया प्रेममा परिन् । पछि छिमेकी गाउँको उनै पुरुषले उनलाई भगाएर लियो ।

त्यसपछि उनी पहिलो श्रीमानको परिवार र भगाएर लाने पुरुषको परिवार दुवैबाट अस्वीकृत भइन्  । गर्भवती अवस्थामा घर न घाटको अवस्थामा उनी पुगिन् । उनले महिला आवास गृहमा पुगेर १ वर्ष ६ महिना आश्रय लिइन् र त्यहीँ छोरी जन्माइन् । पछि आवास गृहको समन्वयमा उनलाई महेन्द्रनगरको ‘साथी संस्था’ मा सीप सिकेर जीविकोपार्जनका लागि पठाइयो र छोरीलाई पहिलो पुरुषको जिम्मा लगाइयो ।

आवास गृहको तथ्याङ्क र बाध्यता
महिला आवास गृह (सेफ हाउस) जयपृथ्वी नगरपालिकाले सञ्चालन गरेको भए पनि यसबाट जिल्लाभरका सबै स्थानीय तहका महिला तथा बालबालिकाहरूले सेवा लिइरहेको आवास गृहकी इन्चार्ज गीता शाहीले जानकारी दिइन् ।

२०७७ सालदेखि हालसम्म १ हजार ३ सय ६३ जनाले महिला आवास गृहबाट सेवा लिएका छन् । तथ्याङ्कअनुसार २०७७ मा २६० जना, २०७८ मा २७८ जना, २०७९ मा २७४ जना, २०८० मा २६७ जना, २०८१ मा २६७ जना र २०८२ मा १२९ जनाले सेवा लिएका छन् । जसमध्ये ७ सय ५३ जना महिला र २ सय २० जना बालबालिकाहरू छन् । इन्चार्ज शाहीका अनुसार सबैभन्दा बढी जयपृथ्वी नगरपालिकाका ४७२ जनाले सेवा लिएका छन् ।

कार्यविधिले हिंसा प्रभावित महिलाहरूलाई बढीमा ४५ दिन मात्र बस्न पाउने व्यवस्था गरे पनि बाध्यात्मक परिस्थिति र न्याय निरूपणमा हुने ढिलाइले गर्दा कतिपय महिलालाई एक वा दुई वर्षसम्म पनि बसाल्नुपरेको कर्मचारीहरूको भनाइ छ ।

लामो समयसम्म न्यायको छिनोफानो नहुने, र हिंसामा परेका महिलाहरूलाई माइती र पोइली दुवै पक्षले बेवास्ता गरी ‘हाम्रा लागि मरेसरह’ हो भनेपछि उनीहरूलाई बाहिर पठाउने वातावरण नभएकै कारण आवास गृहले शरण दिन बाध्य हुनुपरेको छ ।

इन्चार्ज शाहीले भनिन्, ‘यदि हामीले यस्ता हिंसा प्रभावित महिलाहरूलाई आश्रय नदिने हो भने धेरैजसो महिलाहरूले आत्महत्या गर्ने विकल्प बाहेक केही देख्दैनन् ।’ आवास गृह सञ्चालनमा नआउनु पूर्व हिंसा प्रभावित महिलाहरूले आत्महत्या गर्ने गरेको पाइएको उनको दाबी छ ।

तर अहिले उनीहरूको सम्पर्कमा आएका महिलाहरूको ज्यान जोगिएको छ । जिल्लामा एउटा मात्रै महिला आवास गृह सञ्चालनमा रहेकाले यसमा सबै पालिकाहरूले सहयोग र साथ दिन जरुरी रहेको शाहीको भनाइ छ ।


Facebook Comments