परीक्षा दिन नपाउने अवस्थामा पुगे ५४ विद्यार्थी, अखिल क्रान्तिकारीद्वारा विरोध
मेयरसाप डेस्क
|
२०८३ जेठ ११ गते १९:३८
काठमाडौं । अखिल क्रान्तिकारी निकट त्रि–चन्द्र क्याम्पस समितिले परीक्षा दिनबाट वञ्चित हुन लागेको भन्दै ५४ जना विद्यार्थीको पक्षमा आवाज उठाएको छ । संगठनले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको लापरवाहीका कारण विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको आरोप लगाएको हो ।
संगठनका अनुसार शैक्षिक सत्र २०८२/८३ मा भर्ना भएका ५४ जना विद्यार्थीको रजिस्ट्रेसन फारम भेरिफाइड भइसकेको भए पनि उनीहरू परीक्षा दिनबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।
विज्ञप्तिमा विद्यार्थीहरूले आफ्नो भविष्य निर्माण गर्ने उद्देश्यले अध्ययनका लागि क्याम्पस आएको उल्लेख गर्दै अहिले उनीहरू अन्यायमा परेको दाबी गरिएको छ । ‘भर्ना भइसकेका र रजिस्ट्रेसन प्रक्रिया पूरा गरेका विद्यार्थीलाई परीक्षा दिन नदिने कार्यले उनीहरूको भविष्य माथि खेलबाड भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
संगठनले यस विषयमा पटक–पटक प्रश्न उठाउँदा पनि क्याम्पस प्रशासनबाट स्पष्ट जवाफ नआएको जनाएको छ । साथै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समेत मौन बसेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।
अखिल क्रान्तिकारी त्रि–चन्द्र क्याम्पस समितिले परीक्षा दिनबाट वञ्चित हुन लागेका विद्यार्थीलाई तत्काल न्याय दिन माग गरेको छ । माग पूरा नभए जस्तोसुकै कदम चाल्न तयार हुने चेतावनी समेत संगठनले दिएको छ ।
Facebook Comments