स्वास्थ्य, शिक्षा र रोजगारी महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन

User Image मेयरसाप डेस्क | २०८३ जेठ ११ गते १८:००
Image of https://mayorsap.com/storage/photos/shares/photo-2b07c0e0.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित अङ्गदाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले ललितपुर महानगरपालिकाले पूर्वाधार, सम्पदा संरक्षण र हरियाली प्रवद्र्धनमा उल्लेखनीय काम सम्पन्न गरिसकेको उल्लेख गरे।

उनले किष्ट अस्पतालसँग आफ्नो सम्बन्ध वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी भएको समयदेखि नै घनिष्ठ बन्दै गएको स्मरण गरे। उनले आफू चिकित्सा क्षेत्रको व्यक्ति नभएकाले स्वास्थ्यसम्बन्धी प्राविधिक विषयमा धेरै बोल्न नसक्ने बताए।

महर्जनले आफू दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेको उल्लेख गर्दै अब बाँकी रहेका कामलाई पूर्णता दिने लक्ष्यसहित अघि बढिरहेको बताए।
‘नेपालको संविधानअनुसार मेयर दुई पटक मात्रै निर्वाचित हुन पाउने व्यवस्था छ, त्यसैले यो मेरो अन्तिम कार्यकाल हो,’ उनले भने।
उनले ललितपुर महानगरभित्रका २९ वडामध्ये खोकना, हरिसिद्धि, बुङ्गमती र धापाखेल क्षेत्रमा अझै केही पूर्वाधार विकास गर्न बाँकी रहेको बताए। ती क्षेत्रलाई पुरानो उपमहानगर क्षेत्रसरहको स्तरमा पुर्याउन महानगरले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ थियो।

महर्जनले पाटन दरबार क्षेत्रदेखि बुङ्गमती र खोकनासम्मका मठमन्दिर, शिवालय र देवालयको पुनर्निर्माण तथा संरक्षणको काम लगभग सम्पन्न भइसकेको बताए। ‘अब सम्पदा क्षेत्रमा ठूलो बजेट आवश्यक छैन, त्यसैले शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान केन्द्रित गरिरहेका छौँ,’ उनले भने।

उनले स्वास्थ्य क्षेत्रमा महानगरले लगानी बढाउँदै आएको र आगामी दिनमा अझ स्तर अभिवृद्धि गरिने बताए। किष्ट मेडिकल कलेजसँग सहकार्यका सम्भावित क्षेत्र पहिचान गरेर संयुक्त रूपमा काम गर्न आफू तयार रहेको उनले स्पष्ट पारे।

महर्जनले ललितपुर महानगरलाई सफा, हराभरा र व्यवस्थित सहर बनाउने अभियानलाई निरन्तरता दिइएको बताए। महानगरभित्र खाली स्थानलाई हरियालीमा रूपान्तरण गर्ने काम भइरहेको उल्लेख गर्दै उनले यसले नागरिकको औसत आयु वृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उनले महानगर क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट विस्तारको काम तीव्र रूपमा भइरहेको जानकारी दिए। चक्रपथ क्षेत्रमा करिब ७ दशमलव ९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडानको काम भइरहेको उल्लेख गर्दै केही महिनाभित्र रातिको समयमा ललितपुर झिलिमिली उज्यालो सहरका रूपमा देखिने दाबी गरे।

उनले अङ्गदान गर्ने व्यक्तिहरूलाई धन्यवाद दिँदै अङ्गदानलाई अर्काको जीवन बचाउने सबैभन्दा ठूलो पुण्यको काम भएको बताए।


Facebook Comments