काठमाडौं । सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको संघीय संसद् भवन अब बैठक सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ । भित्री सजावट र प्राविधिक कामहरू सम्पन्न भएसँगै आधुनिक संरचनासहितको यो भवन औपचारिक प्रयोगको चरणमा प्रवेश गर्दैछ ।

तर भवनको सौन्दर्यभन्दा बढी अहिले यसको आन्तरिक रंग संयोजनले सबैको ध्यान तानेको छ । विशेषगरी मुख्य हललगायतका भागहरूमा नीलो रंगको व्यापक प्रयोग देखिएपछि त्यसबारे विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।

संघीय संसद् भवनको नयाँ संरचना, विशेषगरी भित्री रंग संयोजन र डिजाइन शैली, अहिले सार्वजनिक बहसको केन्द्रमा छ । सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको यो भवन आधुनिक सुविधासहित औपचारिक प्रयोगका लागि तयार हुँदैगर्दा, यसको सौन्दर्य र प्रतीकात्मक पक्षले अपेक्षाभन्दा बढी राजनीतिक र सामाजिक टिप्पणीहरू निम्त्याएको देखिन्छ ।
यस विषयलाई राजनीतिक संकेतसँग जोडेर पनि सामाजिक सञ्जालमा बहस चलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नीलो रंगलाई जोडेर गरिएका व्याख्याले पनि बहस थप चर्काएको छ ।

यो नयाँ भवनमा पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् । मुख्य हललगायतका भागमा नीलो रंगको व्यापक प्रयोगले केवल डिजाइन निर्णयको विषयभन्दा पनि माथि उठेर प्रतीकात्मक अर्थ खोजिन थालेको छ । सामाजिक सञ्जालमा यसलाई विभिन्न राजनीतिक दल वा नेतासँग जोडेर व्याख्या गरिँदै आएको छ । यसरी सार्वजनिक संरचनाको सौन्दर्यमासमेत राजनीतिकरण हुने प्रवृत्तिको देखिएको छ ।

रंगको होइन, सार्वजनिक स्रोतबाट निर्माण हुने यस्ता महत्वपूर्ण संरचनाहरूमा डिजाइन, परामर्श र निर्णय प्रक्रिया कति पारदर्शी र व्यावसायिक थियो भन्ने हो । संसद् भवन केवल भौतिक संरचना मात्र होइन, लोकतान्त्रिक अभ्यासको प्रतीक पनि हो । त्यसैले यसको आन्तरिक स्वरूपले ‘कार्यकक्षीय उपयुक्तता’ र ‘संस्थागत गरिमा’ दुवै प्रतिबिम्बित गर्नुपर्ने अपेक्षा स्वाभाविक मानिन्छ ।

नयाँ संसद् भवनमा पर्दा, भित्ता, कार्पेटदेखि सोफासम्म नीलो रंगकै प्रमुखता देखिन्छ । यसले भवनलाई एकरूप आधुनिक रूप दिएको भएपनि केही सांसद र आलोचकहरूले यसलाई संसदीय वातावरणसँग कत्तिको मेल खान्छ भन्ने प्रश्न उठाएका छन् । कतिपयले हलको संरचना ‘फिल्म हल’ जस्तो भएको टिप्पणी गर्दै सिट र टेबलको डिजाइनमाथि समेत असन्तुष्टि जनाएका छन् ।

केही सांसदहरूले हलको स्वरूपलाई लिएर उठाएका प्रश्नहरूले पनि यही बहसलाई बल दिएका छन् । के यो संरचना दीर्घकालीन संसदीय आवश्यकताअनुसार डिजाइन गरिएको हो ? के सिट, टेबल, र समग्र लेआउट निर्णय प्रक्रियामा पर्याप्त परामर्श भएको हो ?

एमाले सांसद ऐन महरले संसद फिल्म हल नभएको भन्दै कटाक्ष गरेका थिए । सांसद महरले प्रतिनिधिसभा हलको संरचनामाथि प्रश्न उठाउँदै सांसदहरू ‘फिल्म हेर्न आएको होइन’ भन्दै टिप्पणी गरेका छन् । उनले हलका सिटहरू फिल्म हलजस्ता र टेबलहरू कक्षाकोठाजस्ता बनाइएको आरोप लगाए ।

उनले भने, ‘धेरै ठूलो लगानीमा र धेरै समय लगाएर बनाएको भवन दिर्घकालीन महत्वको भवनलाई सही ढंगले सञ्चालन गर्ने, सोही ढंगले व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् । त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ, टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।’

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थित संसद् भवन आगजनीबाट क्षतिग्रस्त भएपछि अहिले अस्थायी हलमा बैठकहरू सञ्चालन हुँदै आएका छन् । सोही पृष्ठभूमिमा सिंहदरबार परिसरमा नयाँ स्थायी हल तयार पारिएको हो, जसलाई अब आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने स्थानका रूपमा समेत प्रयोग गर्ने तयारी छ ।

संघीय संसद् भवनले अब औपचारिक प्रवेशको चरणमा पाइला टेक्दै गर्दा यसको डिजाइन, रंग र संरचनाबारे उठेका प्रश्नहरूले भने भवनको भौतिक उपस्थितिभन्दा बढी यसको प्रतीकात्मक अर्थ र संस्थागत उपयुक्ततामाथि बहस बढाइरहेका छन् ।