सुकुम्वासीमाथि दम्भ नदेखाउन जेन–जी मुभमेन्ट अलायन्सको आग्रह

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/sukumabsi.png

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्वासी बस्ती खाली गराउने तयारी गरेकोमा जेन–जी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ । अलायन्सले स्थानीय सरकारलाई पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने दम्भ र तिरस्कारपूर्ण कदम नचाल्न आग्रह गरेको छ ।

अलायन्सले विज्ञप्ति जारी गर्दै स्थानीय सरकारले निहत्था र उत्पीडित जनतामाथि दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस् भन्दै चिन्ता व्यक्त गरेको छ । महानगरपालिकाले बस्ती खाली गराउनुअघि न्यायपूर्ण र सहमतिको व्यवस्थापन अपनाउनुपर्ने अलायन्सको माग छ ।

“सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौं महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस्,’ अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, अलायन्सले महानगर क्षेत्रभित्र रहेका बस्तीहरूबारे गरिएको यथार्थ विवरण र तथ्याङ्क सार्वजनिक गर्न पनि जोड दिएको छ । नक्कली र सक्कली सुकुम्वासी भनी हुने गरेका बहसलाई अन्त्य गर्नका लागि अध्ययन प्रतिवेदन र तथ्याङ्क सार्वजनिक हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधिसहितको सरकारले संवेदनशील विषयमा दम्भ नदेखाएर सहमतिको बाटो खोज्नुपर्ने जेन–जी मुभमेन्ट अलायन्सको मुख्य आग्रह रहेको छ ।


Facebook Comments