फागुन २१ गतेको निर्वाचन सफल बनाउन राष्ट्रपतिकाे आह्वान

सञ्चारमाध्यमलाई जिम्मेवारीबोधको आग्रह

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/ramchandra-paudel_1.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई संविधान र लोकतन्त्रलाई थप उन्नत तथा सुदृढ बनाउने अवसरको रूपमा लिँदै सफल बनाउन सबै नागरिकलाई आह्वान गरेका छन् ।

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई सम्बोधन गर्न पनि निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

पौडेलले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरूको महत्त्वपूर्ण योगदान हुने बताए । उनले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य भएको उनको भनाइ छ ।

प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व रहेको धारणा उनले राखे ।


Facebook Comments