पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ६० प्रतिशत सम्पन्न

अप्टिकल फाइबर पनि बिछ्याइने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/img-8851-1.jpeg

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरालाई अव्यवस्थित तारमुक्त गरी सहरी सौन्दर्य बढाउने लक्ष्यसहित सञ्चालित विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित अहिले कामलाई तीव्रता दिइरहेको छ ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो, जसमध्ये पोखरामा रु एक अर्ब ३० करोड खर्च हुनेछ ।

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सुरुमा ढिलासुस्ती भए पनि अहिले कामले गति लिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको छ । अहिले सिर्जनाचोक, सभागृह र लेकसाइडको जरेबर क्षेत्रमा काम भइरहेको छ ।

विमानस्थल प्रवेशमार्गदेखि कुँडहर, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गालगायत मुख्य सहरी क्षेत्रमा तार भूमिगत गरिनेछ ।

विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । सडकमा कम क्षति होस् भन्नका लागि ’होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरेर तार बिछ्याउने काम भइरहेको छ ।

भूमिगत प्रणाली बढी क्षमतायुक्त र भरपर्दो हुने हुँदा पोखराले अव्यवस्थित तार र पोलबाट मुक्ति पाउनुका साथै बढ्दो बिजुलीको मागलाई धान्न सहयोग पुग्ने विश्वास प्राधिकरणले लिएको छ ।


Facebook Comments