हिरासतबाट भागेका सहकारी ठगीका आरोपी बम्जन पुनः पक्राउ
बम्जन जिबी राईका जेठान पर्छन
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका मुख्य आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन् । उनी जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए ।
सिन्धुली दुधौली नगरपालिका–७ घर भएका बम्जन, गोर्खा मिडियाका सञ्चालक तथा सहकारी ठगीका अर्का फरार आरोपी जिबी राईका जेठान हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार भदौको दोस्रो साता पक्राउ परेका बम्जनलाई आन्दोलनको मौकामा भागेपछि परिसरकै टोलीले शुक्रबार पुनः पक्राउ गरेको हो ।
बम्जनले नै जिबी राईलाई कास्कीको सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएको र बम्जनको कम्पनीमा काम गर्न थालेपछि जिबी राईले उनकी बहिनी (बम्जनकी बहिनी) भगवती बम्जनसँग दोस्रो विवाह गरेको जनाइएको छ । भगवती पनि अहिले जिबी राईसँगै सहकारी ठगी अभियोगमा फरार छिन् ।
ज्ञानबहादुर बम्जन सूर्यदर्शन सहकारी ठगी प्रकरणका पनि आरोपी हुन् । उक्त प्रकरणमा उनलाई कास्की जिल्ला अदालतले यसअघि नै १० लाख धरौटीमा रिहा गरेको थियो ।
Facebook Comments