बेमौसमी वर्षाले कोशीमा २ अर्ब ५ करोडभन्दा बढीको क्षति
झापामा सबैभन्दा धेरै नोक्सानी
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
विराटनगर । कोशी प्रदेशमा कात्तिक महिनाको पहिलो हप्तादेखि १७ गतेसम्म भएको अविरल वर्षाका कारण धानबाली र तरकारीमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको क्षति पुगेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङका अनुसार, प्रदेशभर लगाइएको कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामध्ये १२ हजार ४३२ हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ । यसका साथै, सुनसरीमा मात्रै २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड बराबरको तरकारीमा पनि क्षति पुगेको छ ।
जिल्लागत रूपमा हेर्दा, मोरङ जिल्लाले सबैभन्दा ठूलो आर्थिक क्षति बेहोरेको छ । मोरङमा मात्रै रु ७८ करोड ११ लाख ५६ हजार मूल्य बराबरको धानमा नोक्सानी भएको छ । यसैगरी, सुनसरीमा रु ४५ करोड ३१ लाख ७२ हजार र उदयपुरमा रु चार करोड ६२ लाख ५३ हजार मूल्य बराबरको धानबालीमा क्षति पुगेको छ ।
यस बेमौसमी वर्षाले प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभा लगायतका १४ जिल्लाको धानबालीमा क्षति पुगेको छ ।
आर्थिक मूल्यका आधारमा, इलाममा रु तीन करोड २१ लाख ४१ हजार, पाँचथरमा रु एक करोड २२ लाख १७ हजार, ताप्लेजुङमा रु एक करोड २२ लाख ४३ हजार, धनकुटामा रु एक करोड ३९ लाख ४० हजार, तेह्रथुममा रु एक करोड ३३ लाख २० हजार बरारबरको धानबाली नष्ट भएको छ ।
यस्तै, भोजपुरमा रु दुई करोड ६४ लाख ९२ हजार, खोटाङमा रु एक करोड ६१ लाख १० हजार, ओखलढुङ्गामा रु ६८ लाख दुई हजार, सोलुखुम्बुमा रु १४ लाख ६६ हजार र सङ्खुवासभामा रु एक करोड ११ लाख ८७ हजार बराबरको धानबालीमा नोक्सानी भएको छ ।
झापामा सबैभन्दा धेरै चार हजार ३६४ हेक्टर क्षेत्रफलको धानबालीमा असर पुगेको छ । कोशी प्रदेशको कृषि अर्थतन्त्रमा यो बेमौसमी वर्षाले गम्भीर असर पुर्याएको र किसानहरूलाई तत्काल राहतको आवश्यकता देखिएको सरोकारवालको भनाइ छ ।
Facebook Comments