युवाका माग माइतीघरबाटै खोसियो, विध्वंस अरूले नै मच्चाए : ओली
युवाको सेन्टिमेन्ट भड्काएकाे दाबी
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको जेनजी युवाहरूको आन्दोलनलाई खोसाखोसको राजनीतिबाट सुरु गरिएको भन्दै टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले युवाहरूको सेन्टिमेन्ट भड्काउन जेनजेडको नाम चलाइएको आरोप लगाए ।
होटल एभरेष्टसम्म आन्दोलन पुगेपछि निषेधाज्ञा तोड्ने, व्यारिकेट तोड्ने र भिडन्तको राजनीति गर्ने काम भएको उनकोे भनाइ छ । यस क्रममा युवाका जायज मागहरूलाई क्षतविक्षत पारी उग्रवादी धारणा र मागका क्रियाकलाप अगाडि बढेको उनले बताए ।
ओलीले युवाहरूले राखेका राम्रा माग र मुद्दाहरू माइतीघर मण्डपमै पुग्नुअघि नै आन्दोलन खोस्ने तत्त्वहरू जम्मा भइसकेको दाबी गरे । ओलीले भोलिपल्ट भदौ २४ गते देशभर भएको आगलागी र तोडफोडलाई २३ गतेको प्रतिक्रिया नभई तयारी भएको दाबी गरे ।
उनले जेन–जी आन्दोलनका नाममा कोही पानी खुवाएर त कोही काला ज्याकेट लगाएर नेता बनेको भन्दै तिनले मन नपर्ने समाचार दिएबापत सञ्चारकर्मीलाई धम्की दिन थालेको बताए ।
ओलीले युवा सङ्घलाई सञ्चारकर्मीको सुरक्षा दिनुपर्ने र प्रहरी तथा जनतालाई आश्वस्त पार्नुपर्ने अवस्था आएको भन्दै अपराधिक तत्त्वहरू कुनै जिम्मेवार र सङ्गठित युवा नभएको स्पष्ट पारे ।
Facebook Comments