विराटनगर महानगरपालिकामा गाई र भैँसीलाई निःशुल्क खोप अभियान सुरु
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
विराटनगर । विराटनगर महानगरपालिकालाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैँसीलाई निःशुल्क खोप दिने अभियान सुरु गरेको छ ।
विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको उक्त अभियानले विराटनगरलाई खोरेतमुक्त बनाउने लक्ष्य राखिएको छ । विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा आज आयोजित औपचारिक कार्यक्रमबाट अभियानको शुभारम्भ गरिएको हो ।
विराटनगर–१९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाईलाई खोप लगाएर ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ औपचारिक रूपमा प्रारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६०० गाई र भैँसी रहेको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मोरङका प्रमुख डा अजयकुमार साहले जानकारी दिए ।
पहिलो चरणमा १६ हजार ६०० गाई र भैँसीलाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइनेछ । खोप कार्य ‘भ्याक्सिनेटर’मार्फत गराइने र तथ्याङ्क ‘डिजिटल’ प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको छ । मोरङ जिल्लामै तीन लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य छ । त्यस्तै बङ्गुरका लागि ५६ हजार डोज खोप लगाइने डा साहले बताए।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारी तथा अभियान अघि बढिसकेको छ ।
‘कोशी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेत रोगमुक्त बनाउने हाम्रो लक्ष्य हो,” डा अधिकारीले भने, “यस अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउनेछ ।”
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी प्रमुख डा दीपा दिवालीले खोप अभियानले प्रदेशलाई खोरेत रोगमुक्त बनाउन सहयोग पुग्ने दाबी गरे । महानगरको आर्थिक विकास समितिका संयोजक घिमिरेले खोप अभियानले चौपायाको मृत्युदर घटाउने र किसानको आयमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवका अनुसार विराटनगरका १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । उनले स्थानीय कृषकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै खोप अभियान पशु स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम भएको स्पष्ट पारे । कोशी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेतमुक्त घोषणा गर्ने रहेको छ । यस अभियानबाट पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन मद्दत पुग्ने प्रदेश सरकारको विश्वास छ ।
Facebook Comments