मधेश प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/mukhyamantri_1.PNG

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको छ ।  मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयमा असन्तुष्ट भएर तोडफोडमा उत्रिएका नेताहरुले कर्मचारीमाथि समेत कुटपिट गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा तोडफोडमा उत्रिएको नेता कार्यकर्ताहरुको समूहले ती कर्मचारीमाथि कुटपिट गरेको देखिएको छ । कुटाइ खाएका कर्मचारीलाई एक जनाले आक्रोशित भीडबाट जोगाएर बाहिर लगेको देखिन्छ ।

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद निकै चर्किएको छ । आज बिहानैदेखि मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरुले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध नाराबाजीसहित तोडफोड गरेका छन् । 

उनीहरुले प्रदेश गृह, सञ्चार तथा कानुनलगायतनका मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रदेश प्रमुखको कार्यकक्षमा समेत तोडफोड गरेका छन् । प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरू समेत तोडफोड गरिएको छ । उनीहरू प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

 नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

 

 


Facebook Comments