Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २६ गते १७:१७
Image of https://mayorsap.com/storage/photos/shares/swrna.jpg

काठमाडौं । सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । 

आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने  ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको हो ।

बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरेको छ । विभागका चिकित्सक डा.सुशान्त भण्डारीले ललितपुरको महालक्ष्मी र भक्तपुरको कमलविनायकमा बालबालिकालाई पहिलो चरणमा  ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको जानकारी दिए। 

उनका अनुसार ललितपुरमा १८० र भक्तपुरमा ८० बालबालिकाललाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको छ । उनले ‘स्वर्ण विन्दु प्राशन’ खाएका बालबालिकामा बौद्धिक विकास देखिने बताए। “अटिज्म देखिएका बालबालिकामा पनि ‘स्वर्ण विन्दु प्राशन’ खुवाएपछि फुर्तिलो हुने, भनेको मान्ने जस्ता लक्षण देखिन्छन्”, उनले भने, “मौसमी रुघा लाग्ने समस्या पनि बालबालिकामा देखिँदैन ।”

उनका अनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा ‘स्वर्ण विन्दु प्राशन’ खुवाउनुपर्ने हुन्छ । विभागले गत भदौ ५ गते धनगढीबाट ‘स्वर्ण विन्दु प्राशन’को सुरुआत गरेको हो । 

विभागका निमित्त महानिर्देशक डा‍.श्यामबाबु यादवले बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को प्रभाव परेकाले चाँडै नै देशभरिका आयुर्वेद केन्द्रबाट सबै बालबालिकालाई खुवाउने गरी तयारी गर्ने जानकारी दिए। 


Facebook Comments