तनहुँमा जारी खेलकुद प्रतियोगिताले विद्यार्थी उत्साहित

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/khelkud.jpg

दमौली । जिल्लाका विभिन्न पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका खेलप्रेमी विद्यार्थी उत्साहित भएका छन् । जिल्लाका दश पालिकामध्ये केहीमा प्रतियोगिता सम्पन्न भएका छन् भने केहीमा खेल हुँदै छन् ।

पर्याप्त खेलकुद पूर्वाधारका नभए पनि स्थानीय तहले रनिङ शिल्ड प्रतियोगिता सुरु गरेका बताउँदै भने, “जिल्लाका सबै पालिकामा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरीय प्रतियोगिता दमौलीमा आयोजना गर्छौ । पालिका स्तरीय प्रतियोगिताले जिल्लामा खेलकुद उत्सवको वातावरण बनेको छ ।”

बन्दीपुरको उपाधि पवित्रा माविलाई
बन्दीपुर गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयले जितेको छ । टुँडिखेलमा बिहीबार सम्पन्न प्रतियोगितामा २३ पदक सहित पवित्राले उपाधि जितेको हो ।

पवित्रा माध्यमिक विद्यालयले १६ स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जितेको बन्दीपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीम लामिछानेले जानकारी दिए । 

प्रतियोगितामा भानु माध्यमिक विद्यालय १८ पदक सहित द्वितीय भएको छ । भानुले चार स्वर्ण, पाँच रजत र नौ कांस्य जितेको छ । मनास्लु बोर्डिङ स्कुल १४ पदक सहित तृतीय भएको छ । मनास्लुले चार स्वर्ण, पाँच रजत र पाँच  पदक जितेको हो ।

भानुको उपाधि होमराजलाई
भानु नगरपालिकाले आयोजना गरेको नगर स्तरीय साताैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि होमराज लोहनी शारदा शिक्षा सदनले जितेको छ । प्रतियोगितामा ११ पदकका साथ होमराजले उपाधि हात पारेको हो । होमराजले पाँच स्वर्ण, दुई रजत र चार कांस्य पदक जितेको छ । 

प्रतियोगितामा जयबुद्ध माध्यमिक विद्यालय द्वितीय भएको छ । जयबुद्धले तीन स्वर्ण, पाँच रजत र एक कांस्य पदक जितेको छ । राष्ट्रिय माध्यमिक विद्यालय तृतीय हुँदा उसले तीन स्वर्ण, तीन रजत र दुई कांस्य पदक जितेको छ । 

यसैबीच,व्यास नगरपालिकाको आयोजना र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा नगर स्तरीय रनिङशिल्ड आगामी सोमबार मङ्गलवार  १ र २ गते निर्मल माध्यमिक विद्यालयको मैदानमा हुने भएको छ ।


Facebook Comments