अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न हेटौँडामा अन्तरक्रिया
हेटौँडा । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यसहित बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएको कार्यक्रममा श्रमिकहरूको जीवनस्तर उकास्ने र जोखिम व्यवस्थापनमा राज्यको भूमिका सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा मकवानपुरसहित चितवनका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । स्थानीय तहका सरोकारवालाहरूले श्रमिक तथ्यांक सङ्कलन, पहिचान र दर्ता प्रक्रियालाई सहज बनाउन प्रदेश सरकार र स्थानीय तहबीच सशक्त समन्वय आवश्यक रहेकोमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी ले प्रशासन, मन्त्रालय र स्थानीय तहबीच त्रिपक्षीय सहकार्य सुदृढ भएपछि श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सहज हुने बताए । सांसदहरूले पनि श्रमिकलाई सामाजिक सुरक्षा दायरामा ल्याउनु राज्यको दायित्व भएको र यसले प्रदेशको उत्पादनशीलता बढाउने धारणा राखे ।
मन्त्री जयराम थापाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “अनौपचारिक क्षेत्रका श्रमिक हाम्रो अर्थतन्त्रका मेरुदण्ड हुन् ।उनीहरूको पहिचान, दर्ता र सामाजिक सुरक्षामा सहभागिता सुनिश्चित गर्न सरकारले आगामी वर्षभित्रै कार्यलाई तीव्रता दिनेछ ।”
कार्यक्रममा सहभागीहरूले श्रमिक पहिचान प्रणाली सुदृढ गर्न, स्थानीय तहमा श्रम शाखा प्रभावकारी बनाउन र दर्ता प्रक्रिया सरल बनाउन सुझाव दिएका थिए ।
Facebook Comments