जेन-जीको तालाबन्दीले सुर्नयामा औषधि अभाव, सुत्केरी सेवा पनि प्रभावित
गाउँपालिकाको किचलोले जनतालाई सास्ती
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा लामो समयदेखि जारी तालाबन्दीका कारण गाउँपालिकाको सम्पूर्ण स्वास्थ्य सेवा नराम्ररी प्रभावित बनेको छ । तालाबन्दीका कारण अत्यावश्यक काम अघि बढ्न नसक्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ ।
सुर्नया–३, बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले सिटामोल, बिटाडिन, जीवनजललगायतका अत्यावश्यक औषधिहरूको अभाव भएको जानकारी दिए । उनका अनुसार औषधि अभावमा सामान्य चोटपटक लागेका बिरामीलाई समेत उपचार गर्न समस्या भइरहेको छ ।
सोही स्वास्थ्य चौकीका ’ल्याब असिस्टेन्ट’ नरेन्द्रसिंह विष्टले सामान्य सामग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवासमेत प्रभावित हुने अवस्थामा पुगेको बताए ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य चौकीहरूबाट औषधि र स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको पुष्टि गरे ।
उनका अनुसार स्वास्थ्य उपकरणसहित औषधिको आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण ठेक्का सम्झौता हुन नसक्दा खरिद प्रक्रिया अघि बढाउन नसकिएको हो ।
गाउँपालिकाको कार्यालयमा गत असोज २४ गतेदेखि जेन–जी पुस्ताका युवाहरूले आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका थिए ।
तालाबन्दी खोल्न सहमतिका लागि छलफल भए पनि कुनै निकास निस्कन नसक्दा स्वास्थ्यलगायत अन्य अत्यावश्यक सेवाहरू प्रभावित भइरहेका छन् ।
यो पनि पढ्नुहोस्
Facebook Comments