मकवानपुरमा रिसइबीका कारण वृद्धको ह*त्या, कटुवा पेस्तोलसहित अभियुक्त पक्राउ
मेयरसाप डेस्क
|
९ घण्टा अगाडि
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडामा भएको गोली प्रहार घटनामा ६४ वर्षीय ठुले गोलेको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ९ः५२ बजे ७५ वर्षीय इमानसिंह थोकरले पुरानो आपसी रिसइबीका कारण गोलेमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। गोली लागेर गम्भीर घाइते भएका गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराको कमान्डमा प्रहरी टोली तत्कालै घटनास्थलतर्फ खटिएको थियो। प्रारम्भिक अनुसन्धानपछि फरार रहेका मुख्य अभियुक्त इमानसिंह थोकरलाई खोजतलास थालिएको थियो।
प्रहरीका अनुसार फरार थोकरलाई खोजी कार्य तीव्र पार्दै जाँदा शुक्रबार दिउँसो करिब ४ बजे घटनास्थलबाट करिब एक किलोमिटर पूर्वतर्फको कोलगौरी क्षेत्रबाट पक्राउ गरिएको हो। उनी लुकी–छिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
थोकरलाई नियन्त्रणमा लिएपछि प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड लाइभ गोली, एक थान खोका, र करिब १९० ग्राम बारुदजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद हतियार तथा शंकास्पद पदार्थलाई परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो आपसी मनमुटावकै कारण मृतक गोले र अभियुक्त थोकरबीच विगतदेखि नै विवाद हुँदै आएको र सोही विवादले ज्यानै जाने गरी घटना निम्तिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका इमानसिंह थोकरमाथि ज्यान मुद्दा, अवैध हतियार तथा खरखजाना लगायतका कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का बुझेर थप प्रमाण संकलन, छिमेकीहरूको बयान तथा विस्तृत अनुसन्धान कार्य जारी राखेको जनाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको भए पनि अभियुक्त पक्राउ भएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेको बताइएको छ।
प्रहरी प्रशासनले यस्ता घटनामा शून्य सहनशीलता अपनाइने भन्दै हतियार दुरुपयोग तथा मनमुटावजन्य हिंसात्मक घटना रोकथाममा निरन्तर सक्रिय रहने जनाएको छ।
Facebook Comments