हिँड्डुल गर्न सक्दैनन् दानबहादुर, रेडियोदेखि मोबाइलसम्म मर्मत गरेर बन्दैछन् आत्मनिर्भर

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/2.png

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त छन् । दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य थिए । चार वर्षको उमेरमा उनी बिरामी भए । त्यसपछि विस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त छन् । उनलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँडडुल समेत गर्न नसक्ने अवस्थामा रहेका दानबहादुरले हार मानेका छैनन् ।

उपचारका लागि परिवारले सकेको प्रयास गरेको बताउँदै दानबहादुरले अस्पताल धाउँदा धाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गरे। अहिले उनले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछन्। उनले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बनिरहेका छन् । 

“घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो”, दानबहादुरकी आमा उषा सुनारले भनिन्, “त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।” दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन समेत थालेको थालेका छन् ।

सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो । “भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उनलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो”, आमाले भनिन् ।

“अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु”, दानबहादुरले भने, “गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।” उनले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यवसायिक बनाउन नसकेको बताए। 

“थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ”, सुनारले भने, “अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।” पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उनले भने । पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरु मात्रै होइन, प्रेरणाको स्रोत बनेका छन्। 


Facebook Comments