एमालेको मोटरसाइकल र्यालीमा बाँडेको तेलको कुपन सार्वजनिक भएपछि चौतर्फी आलोचना
मकवानपुर । नेकपा एमालेले युवाहरूलाई पेट्रोल बाँडेर आज मोटरसाइकल र्याली निकालेको भन्दै आलोचना सुरु भएको छ । एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको थियो । मकवानपुरमा भने एमालेले र्यालीमा हिँड्नेहरुका लागि भन्दै बाँडेको तेलको कुपन सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना सुरु भएको हो ।
पेट्रोलको लागि बाँडिएको कुपनमा आजको मिति, पार्टीको छाप र तेलको परिणाम समेत उल्लेख गरिएको छ । र्यालीका लागि युवाहरूलाई जुटाउन पठाउ तथा इन्ड्राइभमार्फत फोन, मेसेज र प्रत्यक्ष सम्पर्क गरेर राइडरहरुलाई बोलाइएको दाबी राजावादी नेता दिनेश लामाले गरेका छन्। उनले “र्यालीको भीड देखाउन विभिन्न भुक्तानीमार्फत युवालाई परिचालन गरिएको” आरोप लगाए ।
यस्तै राप्रपाका मकवानपुर जिल्ला अध्यक्ष सागर थापाले यस क्षेत्रमा जम्मा १० हजार भोटर भएको बताए । तर एमालेले १० हजारभन्दा धेरै युवालाई किनेर र्यालीमा उतारेकाले यस्तो पैसा–प्रलोभनको राजनीतिले प्रजातान्त्रिक संस्कारको अपमान भएको उनी बताउँछन् ।
थापाका अनुसार र्यालीमा प्रदेश सभा, नगरपालिका तथा विभिन्न मन्त्रालय र सरकारी कार्यालयका कर्मचारीसमेत सहभागी भएको दाबी गरिएको छ। सार्वजनिक सेवामा कार्यरत कर्मचारीले राजनीतिक कार्यक्रममा खुलेर सहभागी भएको भन्दै आचारसंहितामाथि पनि प्रश्न उठेको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यसबारे कडा आपत्ति जनाएको छ। रास्वपाका स्थानीय प्रतिनिधिहरूले भने, “मोटरसाइकल र्यालीको नाममा हेटौंडाको मुख्य सडक अवरुद्ध गर्नु एमालेको दादागिरी हो। जनताको आवाज, यातायातको सहजता र नागरिक अधिकारको सम्मान बिना यस्तो शक्ति प्रदर्शन लोकतन्त्रको मर्यादा विपरीत छ ।” युवालाई इन्धन र विभिन्न प्रलोभनमार्फत परिचालन गरिएकोबारे स्थानीय प्रशासनले प्रारम्भिक तथ्यांक संकलन भइरहेको जनाएको छ।
Facebook Comments