आफ्नो अनुहार ऐनामा हेर्न ओलीलाई झलनाथको सुझाव

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते २२:५२
Image of https://mayorsap.com/storage/photos/shares/kp-oli2024-07-14-04-50-07-kuhgj_1.jpeg

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो पार्टी सबै उमेर समूह र वर्गको भएको दाबी गरेका छन् ।

आइतबार पेरिसडाँडामा पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई वृद्धहरूको पार्टी भनेकोमा चिन्ता व्यक्त गरे ।

ओलीलाई जवाफ दिँदै नेता खनालले भने, ‘यो बुढापाकाहरूको मात्रै पार्टी होइन । यो युवाहरूको, बच्चाहरूको, महिलाहरूको, पुरुषहरूको, सबै आम जनताको पार्टी हो ।’

आफ्नो पार्टी सर्वहारा श्रमिक वर्गको हितमा लड्ने उनको भनाइ छ । ‘यो पार्टीलाई कसैले पनि बुढापाकाको पार्टी नभने हुन्छ । बरु आफ्नो अनुहार ऐनामा हेर्नु सबैभन्दा राम्रो हुन्छ’, उनले भने ।


Facebook Comments