रामेछापमा एक्लै बस्दै आएकी ७२ वर्षीया वृद्धाको गाउँकै युवकद्वारा ह*त्या
अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका थिए आरोपित युवक
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते १४:०९
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया महिलाको हत्या भएको छ । गएराति धारिलो हतियार प्रहार गरी स्थानीय भिमा लक्ष्मी खड्काको हत्या गरिएको हो ।
आफ्नै गाउँमा बस्ने २६ वर्षीय दिलीप खड्काले उनको हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सोमबार राति करिब साढे १० बजे घटना भएकोमा साढे १२ बजे तिर मात्र प्रहरीलाई जानकारी आएको थियो ।
सूचना प्राप्त भएपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको र जिल्ला प्रहरी कार्यालयको टोली मंगलबार बिहान घटनास्थल पुगेको र आवश्यक मुचुल्का सङ्कलन गरेको प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिए । मृतक खड्काको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ ।
उनका अनुसार वृद्धा भिमा लक्ष्मी खड्का एक्लै बस्दै आएकी थिइन् । धारिलो हतियार प्रहार गरी हत्या गर्ने दिलीप घटनापछि फरार भएका छन्। फरार व्यक्ति पहिले पनि अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका थिए । उनको खोजी जारी छ ।
स्थानीयका अनुसार हत्या भएको करिब एक घण्टापछि राति करिब ११ बजे दिलीप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका थिए । यही आधारमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार प्रहरी तत्काल खटिए पनि प्रहरी चौकीबाट ५ किलोमिटरको दुरीमा रहेको घटनास्थलमा रातिको समय र भौगोलिक जटिलताका कारण पुग्न केही ढिला भएको थियो ।
Facebook Comments