राजावादीको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारले दियाे जागिर
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते १४:०९
काठमाडौं । सरकारले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको श्रीमती सुजन रजकलाई करार सेवामा रोजगारी प्रदान गरेको छ ।
मंगलबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजनलाई करार सेवामा काम गर्नेगरी सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृत तहमा नियुक्त गरेका हुन् ।
मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै मन्त्री खरेलले सुरेशको सन्दर्भमा केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए ।
उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो । सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयलाई पनि लागेको थियो । त्यसकारण अहिले तत्कालको लागि सुरेशकी धर्मपत्नी सुजनको सन्दर्भमा एउटा रोजगारीको सुरुवात गर्न पाइयो भने थोरै भएपनि सान्तवना दिन सकिन्छ कि भनेर उहाँलाई सञ्चार मन्त्रालय अन्तर्गत निकायहरुमा राखिएको हो । सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।’
साथै, उनले सुजनले पढ्ने चाहना राख्ने हो भने पनि त्यसको लागि पनि मन्त्रालयले सम्भव भएसम्म छात्रवृत्ति नभए केही छुट भएपनि उपलब्ध गराउने इच्छा रहेको पनि बताए ।
Facebook Comments