७२ वर्षीया महिलाको ह*त्या गरी फरार रहेका दिलीप दोलखाबाट पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २ गते २३:१८
Image of https://mayorsap.com/storage/photos/shares/images-4.jpg

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेका आरोपीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

गतराति करिब साढे १० बजे स्थानीय युवक २६ वर्षीय दिलीप खड्काले वृद्धा खड्कामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घटना भएको करिब दुई घण्टापछि, राति साढे १२ बजेतिर मात्रै प्रहरीलाई जानकारी पुगेपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहानै घटना स्थल पुगेर मुचुल्का संकलन गरेको थियो ।

मृतक भिमा लक्ष्मी खड्का एक्लै बस्दै आएको परिवारजनले बताएका छन् । हत्या गरेर फरार रहेका दिलिप विगतमा अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार घटना भएको करिब एक घण्टापछि दिलिप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका देखिएपछि उनीहरूबाटै प्रहरीलाई खबर गरिएको हो । रातिको समय, दुरी तथा भौगोलिक जटिलताका कारण घटनास्थलमा प्रहरी पुग्न केही ढिलाइ भएको थियो ।  

यसबीच, फरार अभियुक्तलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायवउपरीक्षक भोला भट्टले पुष्टि गरे । उनका अनुसार फरार दिलीप खड्कालाई दोखाको मेलुङट क्षेत्रबाट पक्राउ गरिएको हो । 
मृतक खड्काको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको प्रहरी भट्टले जानकारी दिए । पक्राउ परेका अभियुक्तमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


Facebook Comments