कृषि एम्बुलेन्स सञ्चालन गर्न दुई करोड ७० लाख सहयोग

१८ वटा पालिकालाई प्रतिपालिका १५ लाख रुपैयाँका दरले अनुदान पठाइयाे

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २ गते २३:२१
Image of https://mayorsap.com/storage/photos/shares/krishi-ambulance.jpeg

काठमाडौँ । सरकारले कृषिउपजलाई उत्पादनस्थलबाट बजारसम्म सहज रूपमा पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ कार्यक्रमलाई विस्तार गरेको छ। यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका केही स्थानीय तहलाई दुई करोड ७० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार १८ वटा पालिकालाई प्रतिपालिका १५ लाख रुपैयाँका दरले अनुदान पठाइएको छ। सङ्घीय सरकार र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन हुने कृषि एम्बुलेन्समार्फत किसानले उत्पादन गरेका तरकारी, फलफूल, दूध, आलु, सुन्तलालगायत नाशिने वस्तु समयमै बजारसम्म ल्याउन सक्ने व्यवस्था मिलाइने छ।

जोशीका अनुसार विकट बस्तीका किसानलाई लक्षित गरी एम्बुलेन्स सञ्चालनको कार्यविधि सम्बन्धित गाउँपालिकाले नै तय गर्ने छन्। सेवाका लागि आवश्यक जनशक्ति, तापक्रम व्यवस्थापन, शुल्क निर्धारणलगायत प्राविधिक तथा व्यवस्थापकीय पक्ष स्थानीय तहले बनाउने नीतिगत व्यवस्था गरिएको छ।

मन्त्रालयले कृषि एम्बुलेन्स प्रभावकारी रूपमा सञ्चालन भएका पालिकामा कृषिउपजको ढुवानी सुगम बनेको र किसान प्रत्यक्ष लाभान्वित हुन थालेको पुष्टि गरेको छ। मन्त्रालयले प्रदेश तथा स्थानीय तहलाई पनि कृषि एम्बुलेन्स कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्न सुझाव दिँदै आएको छ।

सरकारले कृषि प्रवर्द्धनको दीर्घकालीन लक्ष्यअनुसार किसानलाई व्यावसायिक सीप, तालिम, मल, बीउबिजन, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। कृषि एम्बुलेन्स स्थापनाले उत्पादनदेखि बजारसम्मको चक्रलाई अझ सहज र द्रुत बनाउने अपेक्षा गरिएको छ।


Facebook Comments