पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा सिधा उडान सुरू
पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते २३:२०
गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटानको पारोमा सिधा उडान औपचारिक रूपमा सुरु भएको छ। लामो समयदेखि चार्टर उडानको तयारी भइरहे पनि विभिन्न कारणले स्थगित हुँदै आएका उडानहरु अन्ततः आजदेखि सञ्चालनमा आएका हुन्।
युनिभर्सल टुर्स एण्ड ट्राभल्स (यूटीटी)ले गत असोज १२ (सेप्टेम्बर २८) देखि चारवटा चार्टर उडान गर्ने घोषणा गरेको थियो। असोज १२, १६, २० र २४ गतेका लागि तालिका तय गरिए पनि प्राविधिक तथा प्रशासनिक कारणले उडान हुन सकेको थिएन। त्यसैमध्येको पहिलो चार्टर उडान आज सम्पन्न भएको हो।
पोखरा महानगरका प्रमुख धनराज आचार्य भुटान एयर र नेपालस्थित युनिभर्सल टुर्स एण्ड ट्राभल्सको निमन्त्रणामा पहिलो उडानमार्फत थिम्पु पुगे। प्रमुख आचार्यले पारो अन्तरराष्ट्रिय विमानस्थलबाट जानकारी दिँदै भने, “पोखराबाट नौ जना पाहुना तथा क्रु मेम्बरसहित आएको विमान पारोमा सुरक्षित अवतरण गरेको छ। आज केही प्राविधिक कारणले पूर्व निर्धारित टिम यात्रा गर्न नपाए पनि छिट्टै नियमित उडान सुरु हुने अपेक्षा राखेको छु।”
यूटीटी र भुटान एयरलाइन्सले यसअघि गरेको प्रतिबद्धता केही पुनर्तालिकीकरण भएपछि आजबाट पूरा हुन थालेको प्रमुख आचार्यले बताए। भुटान एयरलाइन्सका अनुसार बाँकी चार्टर तथा नियमित सिधा उडान आगामी २०२६ अप्रिलदेखि पूर्ण रूपमा सञ्चालन हुने तयारी छ।
भुटान एयरलाइन्सको जहाज १२६ सिट क्षमताको छ। ट्राभल कम्पनीले चार्टर उडानसँगै ४ रात ५ दिनको विशेष ट्राभल प्याकेज समेत सार्वजनिक गरेको छ। पोखरादेखि पारो र पारोबाट पोखरा सिधा उडान सुरु हुनु दुवै देशका लागि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। “विदेशी एयरलाइन्सलाई यस्ता उडानमार्फत आकर्षित गर्न सकिनु पोखराको पर्यटन विकासका लागि ठूलो सकारात्मक संकेत हो,” उनले भने।
सरकारले पोखरा र भैरहवाबाट हुने अन्तरराष्ट्रिय उडानलाई आकर्षक छुट सुविधा प्रदान गर्दै आएको छ। २०८१ साउन २८ देखि लागू गरिएको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार यी विमानस्थलबाट हुने उडानमा विभिन्न शुल्कमा विशेष छूट दिइएको छ। ग्राउन्ड ह्यान्डलिङ सेवामा नेपाल वायुसेवा निगमले २५ प्रतिशत मात्र लिने व्यवस्था छ। यात्रु सेवा शुल्क तीन हजार रुपैयाँ छुट, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा समेत पूर्ण छूट उपलब्ध छ।
हाल भुटान एयरलाइन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सातामा चारवटा उडान भर्दै आएको छ। पोखराबाट भने सन् २०२३ मा सिचुवान एयरलाइन्सले चार्टर उडान सुरु गरेको थियो। हिमालय एयरलाइन्सले पोखरा–ल्हासा–पोखरा हुँदै काठमाडौँ जोड्ने उडान एक वर्षदेखि नियमित सञ्चालन गर्दै आएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ मा उद्घाटन भएको हो। ३ हजार ९०० रोपनीमा फैलिएको विमानस्थल करिब २२ अर्ब लागतमा निर्माण भएको हो, जसमा २,५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ। वार्षिक ८ लाख यात्रु सेवा दिनसक्ने क्षमता रहेको यो विमानस्थल अन्तरराष्ट्रिय उडान विस्तारसँगै क्रमशः व्यस्त बन्दै गएको छ।
Facebook Comments