रूपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन
प्रशासनिक र भौगोलिक संरचनामा नयाँ अध्याय सुरु भएको अध्यक्षकाे उद्घोष्
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते ०१:३०
रूपन्देही । रूपन्देहीको दक्षिण क्षेत्रमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम तथा प्रशासनिक केन्द्र दुवै परिवर्तन गरिएको छ। मङ्सिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गर्ने निर्णय गरेको हो।
गाउँपालिकाको नाम परिवर्तनसँगै केन्द्र पनि साविक वडा नं ३ रायपुरबाट सारेर वडा नं ४ खैरामा राखिएको छ। गाउँपालिकाका अनुसार यी परिवर्तनहरू पालिका क्षेत्रको ऐतिहासिक तथा धार्मिक पहिचानलाई मजबुत बनाउने उद्देश्यले गरिएको हो। मर्चवारीमाई भगवतीको मन्दिरलाई आत्मसात गर्दै नयाँ नामकरण गरिएको बताइन्छ। स्थानीयहरूका अनुसार मर्चवारीमाई मन्दिर यस क्षेत्रको पुरानो र महत्वपूर्ण धार्मिक स्थलमध्ये एक हो।
केन्द्र खैरामा सरेसँगै सेवाप्रवाह अझ सहज हुने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले लामो समयदेखि प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको र अहिले निर्णय भएको जानकारी दिए। उनका अनुसार भूगोल र सबै वडाको पहुँचलाई ध्यानमा राखी खैरा उपयुक्त रहेको मूल्यांकन गरिएको हो।
प्रशासनिक केन्द्रअनुसार स्थायी भवन निर्माण हुन नसकेको ग्रामीण नगरपालिका अब नयाँ केन्द्रमै निर्माण हुने बताइएकाे छ। अध्यक्ष बरईले “नाम र केन्द्र परिवर्तनले गाउँपालिकाको प्रशासनिक र भौगोलिक संरचनामा नयाँ अध्याय सुरु भएको” बताएका छन् । उनले आवश्यक पूर्वाधार निर्माण चाँडै अघि बढाइने जानकारी दिएका छन्।
Facebook Comments