नेपालसहित ११ नयाँ देश मिथानोल विषाक्तता चेतावनी सूचीमा थपिए

मिथानोल मिसिएको मदिराबाट हुने मृत्यु तथा अन्धोपनका घटनामा विश्वभर वृद्धि भएपछि बेलायतको विदेश मन्त्रालयले नेपाललगायत ११ देशलाई नयाँ जोखिम सूचीमा राखेको छ। अब कुल २८ देशलाई मिथानोल विषाक्तता उच्च जोखिम क्षेत्रका रूपमा चेतावनी दिइएको छ।

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते ०२:४१
Image of https://mayorsap.com/storage/photos/shares/wine.png

एजेन्सी । बेलायतको विदेश मन्त्रालय (फरेन अफिस) ले मिथानोल मिसिएको मदिराबाट यात्रुहरूमा बढ्दै गएको स्वास्थ्य जोखिमका कारण नेपालसहित ११ नयाँ देशलाई आफ्नो चेतावनी सूचीमा समावेश गरेको छ। नयाँ सूचिमा बंगलादेश, भारत, इरान, जोर्डन, लिबिया, मलावी, मलेसिया, मोरक्को, नेपाल, पपुवा न्यूगिनी र रुवाण्डा रहेका छन्। पछिल्ला महिनाहरूमा विश्वका विभिन्न स्थानबाट मिथानोल विषाक्तताका घटनाहरू बढ्दै गएपछि तालिका विस्तार गरिएको विदेश मन्त्रालयले जनाएको छ।

गत महिनामात्रै इक्वेडर, जापान, केन्या, मेक्सिको, नाइजेरिया, पेरु, रुस र युगान्डालाई सूचीमा जोडिएको थियो। २०२४ मा लाओसमा छजना पर्यटकको मृत्यु भएको घटना तथा विश्वका अन्य भागमा देखिएका उच्च-प्रोफाइल घटनाले जोखिम अझ गम्भीर बनेको अधिकारीहरू बताउँछन्। मिथानोल अलिकति मात्र सेवन भए पनि १२ देखि ४८ घण्टाभित्र अन्धोपन वा मृत्यु निम्त्याउन सक्छ, जसले यो समस्यालाई निकै चिन्ताजनक बनाएको छ।

मिथानोल मूलतः औद्योगिक प्रयोगका लागि बनाइने रसायन हो, जुन एन्टिफ्रिज, विन्डस्क्रिन वासर फ्लुड, पेन्ट थिनर आदि सामग्रीमा प्रयोग हुन्छ । याे मानवीय सेवनका लागि प्रयाेग गरिने रसायन होइन। यद्यपि परम्परागत मदिरा उत्पादन प्रक्रियामा प्राकृतिक रूपमा केही मिथानोल बन्ने गरे पनि व्यावसायिक कम्पनीले डिस्टिलेसन मार्फत यो मात्रा सुरक्षित स्तरमा झारिदिन्छन्। तर केही देशमा लागत कम गर्न वा “स्पिरिट”को तागत बढाउन गैरकानुनी रूपमा मिथानोल मिसाइने गरेको बेलायती विदेश मन्त्रालयकाे दावी छ। मिथानोल र इथानोलको स्वाद वा गन्ध उस्तै भएकाले उपभोक्ताले छुट्याउन नसक्नु नै सबैभन्दा ठूलो जोखिम मानिएकाे छ।

परम्परागत घरेलु मदिरा (जाँड–रक्सी) को उत्पादन, पर्यटन क्षेत्रमा पाइने अनियमित ‘ककटेल’ तथा दर्ता नभएका साना बार–रेस्टुरेन्टमा उपलब्ध पेय पदार्थको गुणस्तरमा पर्याप्त नियमन नहुँदा नेपाल विषाक्तता जोखिमकाे चेतावनी सूचीमा परकाे हाे। हालसालै दक्षिण–पूर्वी एसियाका पर्यटक गन्तव्यहरूमा मिथानोल मिसाइएको रक्सीका घटनामा वृद्धि भएपछि नेपालजस्ता क्षेत्रलाई पनि जोखिम वर्गमा राखिएको बेलायतकाे फरेन अफिसले उल्लेख गरेको छ।

बेलायतले “मिथानोल जोखिम सचेतना अभियान” सुरु गर्दै विदेश जाने यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। मदिरा सेवन गर्दा विश्वसनीय र लाइसेन्स प्राप्त स्थानमा मात्र पिउन, घरमै बनाइने वा निःशुल्क दिइने पेयबाट टाढा रहन, र “सामान्य भन्दा धेरै खराब ह्याङ्गओभर”, वाकवाकी, दृष्टि धमिलो हुनुजस्ता लक्षण देखिए तत्काल उपचार लिन उपभाेक्ताहरूलाई अनुराेध गरिएकाे छ ।

हाल मिथानोल विषाक्तता चेतावनी सूचीमा—ब्राजिल, बंगलादेश, क्याम्बोडिया, कोस्टा रिका, इक्वेडर, फिजी, भारत, इन्डोनेसिया, इरान, जापान, जोर्डन, केन्या, लाओस, लिबिया, मलावी, मलेसिया, मेक्सिको, मोरक्को, नेपाल, नाइजेरिया, पपुवा न्यूगिनी, पेरु, रुस, रुवाण्डा, थाइल्यान्ड, टर्की, युगान्डा र भियतनाम रहेका छन् । यी देशहरूमा मदिरा उत्पादन तथा वितरण प्रणाली औपचारिक रूपमा पूर्ण नियमनमा नआएकाले मिथानोल मिसावटको जोखिम उच्च रहेको चेतावनीमा भनिएको छ।

के हाे मिथानाेल ?

मिथानोल एक प्रकारको अल्कोहल हो, तर सामान्य मदिरामा पाइने इथानोलभन्दा बिल्कुलै फरक र अत्यन्त विषालु हुन्छ। यसको रासायनिक संरचना सरल—एक कार्बन परमाणु मात्र—भएकाले शरीरले यसलाई इथानोलजस्तै सुरक्षित रूपमा प्रशोधन गर्न सक्दैन। मिथानोल साधारणतया इन्धन, एन्टिफ्रिज, विन्डस्क्रिन क्लिनरजस्ता औद्योगिक र घरेलु उत्पादनहरूमा प्रयोग हुने पदार्थ हो, र मानव उपभोगका लागि सुरक्षित मानिंदैन। तर अवैध रूपमा रक्सी बनाउन खोज्दा, लागत कम गर्न वा मात्रा बढाउन केही व्यक्तिले जानाजानी मिथानोल मिसाउने गर्छन्। साथै, फलफूल वा कच्चा बोटबिरुवाबाट परम्परागत रूपमा बनाइने मदिरामा पनि कहिलेकाहीँ थोरै वा खतरनाक मात्रामा मिथानोल उत्पन्न हुन सक्छ।

शरीरमा पुगेपछि मिथानोल आफैंभन्दा पनि यसले बनाउने विषालु पदार्थहरू खतरनाक हुन्छन्। इथानोल शरीरमा गएपछि एसीटाल्डिहाइड हुँदै एसीटेटमा रूपान्तरण हुन्छ, जुन शरीरले उर्जा बनाउन प्रयोग गर्छ। तर मिथानोल भने सुरुमा फर्माल्डिहाइड र त्यसपछि फर्मिक एसिडमा परिणत हुन्छ, जुन अत्यन्त विषालु र कोशिकाको उर्जा उत्पादन केन्द्र—माइटोकन्ड्रिया—लाई नोक्सान पुर्याउने रसायन हो। यसबाट शरीरमा अत्यधिक एसिड बढ्ने मेटाबोलिक एसिडोसिस हुन्छ, जसले वान्ता, पेट दुखाइ, कमजोरी, सास फेर्न गाह्रो हुने, चेत हराउनेदेखि कोमा जानेसम्मको अवस्था उत्पन्न गर्न सक्छ।

मिथानोलको सबैभन्दा गम्भीर प्रभाव दृष्टिमा पर्छ। रेटिनामा माइटोकन्ड्रिया धेरै सक्रिय हुने भएकाले फर्मिक एसिडले ती कोशिकालाई छिट्टै नष्ट गर्छ। उपचार ढिलो भयो भने स्थायी दृष्टि क्षति वा अन्धोपन हुने जोखिम अत्यन्त उच्च हुन्छ। पर्याप्त मात्रा सेवन भएमा जीवित रहन सम्भव भए पनि ढिलो उपचारका कारण दृष्टि गुम्ने घटना सामान्यजस्तै मानिन्छ।

मिथानोल विषाक्तताको उपचार समयमै सुरु भयो भने मात्र प्रभावकारी हुन्छ। बिरामीलाई सास फेर्न सहयोग दिने व्यवस्थासहित, फोमेपिजोल जस्ता औषधिले मिथानोललाई विषालु एसिडमा रूपान्तरण हुन रोक्छन्। गम्भीर अवस्थामा डायलासिसमार्फत मिथानोल र यसको विषालु पदार्थ शरीरबाट हटाइन्छ। सुरक्षाको दृष्टिले परदेशमा खासगरी स्थानीय रूपमा बनाइने पेय वा अनियमित रूपमा पाइने स्पिरिट पिउँदा जोखिम बढी हुने भएकाले सरकारी निर्देशिकाले लाइसेन्स प्राप्त स्थानमै मादक पेय सेवन गर्न सुझाव दिएको छ।


Facebook Comments