सरकारसँग सबै राजनीतिक दलकाे एक  स्वर- निर्वाचनका लागि उपयुक्त वातावरण बनाेस् !

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते २३:१८
Image of https://mayorsap.com/storage/photos/shares/sarbadaliya-baithak.jpg

काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा बोलाएकाे विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार भए पनि विश्वाससिलो वातावरण बन्न नसकेको बताए । उनले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै निर्वाचनका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गरे । 

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनका लागि  अनुकूल वातावरण बनाउन नसकेको बताए । उनले अन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा निर्वाचनका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गरे  । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा निर्वाचन केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गरे । उनका अनुसार सरकारको पहिलो दायित्व निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको हुँदा सबै राजनीतिक दलले त्यसमा सहयोग गर्नुपर्नेछ ।


Facebook Comments