प्रहरीसँगको झडपमा थप ६ जना माओवादी मारिए
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते १७:००
काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीहरूबीच भएको भिडन्तमा कम्तीमा ६ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो ।
इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार छत्तीसगढ र तेलङ्गानाबाट माओवादीहरू आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेकाले सीमा क्षेत्रमा कडा निगरानी बढाइएको छ ।
१७ नोभेम्बरबाट सञ्चालित अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए ।
पछिल्ला केही दिनमा प्रहरीले एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जना माओवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ समेत बरामद गरिएको छ ।
छत्तीसगढका विभिन्न जिल्लामा बढ्दो सुरक्षा दबाब र हिड्माको मृत्युपछि माओवादीहरू आन्ध्र प्रदेश प्रवेश गरी शहरी क्षेत्रमा लुकिएर पुनः संगठन निर्माण र भावी योजना बनाउन खोजेको प्रहरीले जनाएको छ ।
डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सिआइबी प्रमुख रामकृष्णाको समन्वयमा चलाइएको यो बहु–एजेन्सी अपरेसन सफल भएको सुरक्षा बलले दाबी गरेको छ ।
Facebook Comments