क्षतिग्रस्त संरचना पुनर्निर्माण कोषमा साढे ८ करोड जम्मा
तत्काल मर्मतसम्भारमा रकम खर्च गरिने
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते १४:०५
काठमाडौं । गत भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनः स्थापनाका लागि स्थापना गरिएको कोषमा हालसम्म ८ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ ।
विभिन्न व्यावसायिक प्रतिष्ठान तथा सङ्घसंस्थाबाट उक्त रकम सङ्कलन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । यसै क्रममा, निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रुपैयाँ कोषमा जम्मा गरेको छ ।
परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बुधवार सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
अर्थमन्त्री अध्यक्ष रहेको भौतिक पुनर्निर्माण समितिले कोषमा जम्मा भएको रकमलाई क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न, तत्काल मर्मत सम्भार गरी सेवा चालु गराउन र आर्थिक पुनरुत्थान, राहत तथा पुनः स्थापनाका कार्यक्रमहरूमा खर्च गर्ने निर्णय गरेको छ ।
Facebook Comments