बिहारमा नितिश कुमारले लिए १०औँ पटक मुख्यमन्त्रीको शपथ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १४:१०
Image of https://mayorsap.com/storage/photos/shares/nitish-kumar.jpg

काठमाडौं । भारतीय जनता पार्टी र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले बिहार विधान सभामा दुई तिहाइ बहुमत प्राप्त गरेपछि ७४ वर्षीय नितिश कुमारले दसौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

पटनाको गान्धी मैदानमा बिहान साढे ११ बजे आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा लगायत कम्तीमा सात राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति थियो । समारोहमा दुई उपमुख्यमन्त्रीसहित १८ मन्त्रीले पनि शपथ लिएका छन् ।

नितिश कुमारले सन् २००५ यता गान्धी मैदानबाट चौथो पटक पद बहाली गरेका हुन् । सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बन्दा उनको सरकार सातै दिनमा ढलेको थियो । त्यसपछि उनले विभिन्न गठबन्धन परिवर्तन गर्दै मुख्यमन्त्रीको रूपमा लगातार शपथ लिँदै आएका छन् ।

भारतीय अखबार ’हिन्दुस्तान टाइम्स’ का अनुसार, नितिश कुमारले अहिलेसम्म ७०२३ दिन (करिब १९ वर्ष) मुख्यमन्त्रीका रूपमा बिताइसकेका छन् र उनी देशभरका सबै मुख्यमन्त्रीको सूचीमा लामो समय बिताउने आठौँ स्थानमा छन् ।

यदि उनले यस पटक पाँच वर्षे कार्यकाल पूरा गरे भने उनी भारतको इतिहासमा तेस्रो सबभन्दा लामो कार्यकाल बिताएका मुख्यमन्त्री बन्नेछन् ।

साथै, उनले मुख्यमन्त्री रहँदा १४ जना राज्यपालसँग काम गरिसकेका छन्, जुन भारतका मुख्यमन्त्रीहरूमाझ तेस्रो अनौठो रेकर्ड हो ।


Facebook Comments