त्रिविको ‘क्यामेरा भवन’ पुगेर सञ्चारमन्त्रीले भने– मन्दिर  आएको अनुभूति भयो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते २३:१२
Image of https://mayorsap.com/storage/photos/shares/jagadish-kharel-in-tu.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गरेका छन् । मन्त्री खरेलले विभागको बल्खुस्थित ‘क्यामेरा भवन’ को आज स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाका बारेमा जानकारी लिइ समस्या समाधानका लागि भूमिका खेल्ने बताए ।
     
त्यसक्रममा सञ्चारमन्त्री खरेलले त्रिविको क्यामेरा भवन पुग्दा मन्दिर पुगेजस्तो अनुभूति भएको उल्लेख गरे । “क्यामेरा भवनमा आउँदा श्रद्धा र सद्भाव अगाध रह्यो । मन्दिरमै आएको अनुभूति भयो”, उनले भने, “म सञ्चारमन्त्रीका रुपमा नभई विद्यार्थीको नाताले एउटा सपनाको घरमा आएजस्तो ‘फिल’ भयो किनकी रत्नराज्य क्याम्पसमा साँघुरो कक्षाकोठा, भौतिक पूर्वाधार र स्रोतसाधनको कमीका बाबजुद अध्ययन गरेको त्यो भोगाइ आज सुविधासम्पन्न भवनमा आउँदा नौलो अनुभूति भयो ।”

सञ्चारमन्त्री खरेलले विभागको शैक्षिक उन्नयनका लागि सरकारकोतर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे । उनले विभागलाई शैक्षिक उन्नयन र रचनात्मक कामका लागि वर्तमान सरकारको सद्भाव रहने विश्वास व्यक्त गरे ।

विभागका उपप्राध्यापक डा देवराज अर्यालले ऊर्जाशील व्यक्तित्व सञ्चारमन्त्रीका रुपमा पाउँदा केन्द्रीय विभागले विकासको अपेक्षा गरेको र त्यसमा मन्त्रीको तदारुकताले प्रतिफल दिने अपेक्षा गरे ।

त्यसअघि सञ्चारमन्त्री खरेल क्यामेरा भवन पुग्दा विभागीय प्रमुख डा अर्यालले स्वागत गरेका थिए । सञ्चारमन्त्री खरेलले विभागको भवनभित्र कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडिओ, टेलिभिजन स्टुडिओ, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, आधुनिक सभाहललगायतको अवलोकन गरे । विभागीय प्रमुख अर्यालले भवनभित्र शैक्षिक, प्रागिक र भौतिक अवस्थाको सञ्चारमन्त्रीलाई जानकारी गराए ।

उनका अनुसार विभागले ‘डिजिटल मिडिया प्रडक्सन’ र ‘फिल्म स्टडिज’ को शैक्षिक कार्यक्रम छिट्टै सञ्चालन गर्ने तयारी गरेको छ । विश्वका विभिन्न विश्वविद्यालयसँग सहकार्य, अन्तरराष्ट्रिय सम्मेलनहरु, स्रोत साधन जुटाउनेलगायत कामलाई विभागले प्राथमिकता दिएको छ ।  

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभाग दुई वर्षदेखि बल्खुस्थित आफ्नै क्यामेरा भवनबाट सञ्चालन भइरहेको छ । जहाँ स्नताकोत्तर तह र दर्शनार्थी (एमफिल) एवं विद्यावारिधि (पिएचडी) सम्मको कक्षा सञ्चालन हुँदै आएको छ ।

प्राध्यापक लालदेउसा राईसँग भेट

सञ्चारमन्त्री खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक एवं पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तित्व प्राध्यापक लालदेउसा राईसँग उनकै निवास पुगेर भेटवार्ता गरेका छन् । मन्त्री खरेलले वनस्थलीस्थित राईको निवासमा पुगेर भेट गर्नुका साथै उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए । उनीहरुबीच पत्रकारिता क्षेत्रको उन्नयन र विकास र पेसागत व्यावसायिकतालगायत सवालमा कुराकानी भएको थियो ।
     
सो अवसरमा सञ्चारमन्त्री खरेलले प्राध्यापक राईको सुस्वास्थ्य, दीर्घ जीवनको कामना गरे । उनले भने, “हजुरले पढाएका धेरै विद्यार्थी पत्रकारिताको सम्पादकीय नेतृत्व तथा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरिरहेका छन् । त्यसैले हजुरप्रति सबै विद्यार्थीको माया, सम्मान र आत्मियता छ, हाम्रोतर्फबाट अझै दीर्घायु, सुस्वास्थ्य र शान्तिको कामना गर्दछौँ ।”

मन्त्री खरेलले नेपाली पत्रकारितालाई उचाइम पुर्याउन प्राध्यापक राईको महत्वपूर्ण भूमिका खेलेको बताए । उनले प्राध्यापक राईको सोच, ज्ञान र भावनाअनुरुप सरकारकोतर्फबाट गर्नसकिने विभिन्न काममा सहजीकरण गरिने विश्वास व्यक्त गरे ।

प्राध्यापक राईले नेपालको पत्रकारितालाई दक्षिण एशियाकै नेतृत्वदायी भूमिकामा पुर्याउनुपर्नेमा जोड दिए । उनले व्यावसायिक पत्रकारिता गर्न र पत्रकार बन्नका लागि गहिरो अध्ययन, खोज र अनुसन्धानमा दक्खल एवं सिर्जनशील हुनुपर्ने धारणा राखे ।

राईले त्रिविअन्तर्गतको विभागमा करिब ४० वर्ष प्राध्यापन गराएका थिए । उनले विसं २०३३ मा पत्रकारिताको अध्ययन सुरु भएसँगै पढाउन सुरु गरेका थिए । उमेरले ९२ वर्ष पुगेका राई अहिले पनि अध्ययन र लेखनमा सक्रिय छन् । उनी विगत एक वर्षदेखि स्वास्थ्यका कारण निवासमै आराम गरेर बसेका छन् ।
     
सञ्चारमन्त्रीका साथमा विभागीय प्रमुख डा अर्यालसहित प्राध्यापक र विद्यार्थीसहित राईको निवास पुगेका थिए । विद्यार्थीले शिक्षकप्रति गर्ने सम्मान मन्त्री हुँदा पनि सञ्चारमन्त्री खरेलले गुरु लालदेउसा राईप्रति गरेको सम्मान सराहनीय कदम भएको विद्यार्थीहरुले बताएका छन् । 

विसं २०३३ देखि पत्रकारिता शिक्षाको प्रारम्भ भई पत्रकारिता विषयलाई विस्तार गरी गुणस्तरीय बनाउन अथक प्रयास भइरहेको विभागले जनाएको छ । विभागले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।


Facebook Comments