प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभामा विधेयकहरू अघि बढ्दै

६ वटा विधेयक विचाराधीन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते १६:५५
Image of https://mayorsap.com/storage/photos/shares/rastiya-sava.png

काठमाडौं । प्रतिनिधिसभा विघटनको अवस्था रहे पनि राष्ट्रिय सभामा दर्ता भएका विधेयकहरूलाई सरकारले अगाडि बढाउन तयार भएपछि विधायन व्यवस्थापन समितिले छलफल सुरु गरेको छ ।

विधायन समितिकी सभापति तुलासा कुमारी दाहालका अनुसार, हाल राष्ट्रिय सभामा कूल ६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये चलचित्र विधेयक, पर्यटन विधेयक र सामाजिक सञ्जाल विधेयक गरी तीन वटा दफावार छलफलका लागि समितिमा रहेका छन् ।

यता, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, अभौतिक सांस्कृतिक सम्पदा विधेयक र वैकल्पिक विकास वित्त परिचालन विधेयक गरी तीन वटा विधेयक भने सभामा विचाराधीन छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँगको छलफलपछि चलचित्र विधेयकमाथि छलफल सुरु भएको छ र पर्यटन विधेयकमाथि पनि छलफल अगाडि बढाउने तयारी भइरहेको छ ।

सभापति दाहालले कानुन निर्माणलाई द्रुतता दिन र नयाँ प्रतिनिधिसभा आए लगत्तै यी विधेयकहरूलाई ऐनमा रूपान्तरण गर्न सकियोस् भन्ने उद्देश्यले अहिले विचाराधीन विधेयकहरू अगाडि बढाइएको स्पष्ट पारेकी छन् ।


Facebook Comments