महिला उद्यमशीलतासम्बन्धी नीतिगत व्यवस्था गर्दै काठमाडौं महानगरपालिका

अब काठमाडौंमा बस्ने महिलाहरूले खाली हात बस्नु नपर्ने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:४९
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2025-11-21-at-52444-pm-6.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने, हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

उद्यमशीलतासँग सम्बन्धित ‘एक वडा, एक नमूना कार्यक्रम’ ले नतिजा प्रदान गर्न थालेको उपप्रमुख डंगोलको दाबी छ । उनका अनुसार महिला समूहहरूलाई पनि उद्यमी बनाउने लक्ष्य दिइएको छ । यसलाई नीतिगत रूपमा नै व्यवस्था गरिने उनको भनाइ छ ।

“घरमै बसे पनि हातमा केही न केही सीप हुन सक्छ । कसैलाई मीठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सीप हो । मैले के जानेको छु र ? भनेर नबस्नु होला”, उनले महिलाहरूलाई भनिन् ।

महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ । 

कामपाले सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । विसं २०७८ मा सबै वडामा समूह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् ।

यी समितिअन्तर्गत पाँच/पाँच जना रहेका अरु ६०० वटा समूह छन् । समूहका सदस्यहरूले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा रु १०० देखि ५०० सम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक दुई वर्षमा ब्याजसहित फिर्ता हुन्छ । 

कामपाभित्रका समूहमा अहिले तीन हजार एक जना सदस्य छन् । समूहहरूको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सीपमूलक तालिमबाट उनीहरू आयआर्जनसमेत गर्छन् । गठन गरिएका समूहमा आबद्ध भएपछि महिलाहरू घर बाहिर आउन सक्छन् । महिला सशक्तीकरणको पहिलो पाइला यही नै रहेको बताइएको छ । 


Facebook Comments