दुर्गा प्रसाईँकाे टिमले घोषणा गर्याे नेपाल बन्द
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:४७
काठमाडौँ, मंसिर ६ – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महानअभियान, नेपाल’ ले मंसिर ७ गतेबाट घोषणा गरिएको राष्ट्र, नागरिक तथा धर्म बचाउने अभियानअन्तर्गत हुने देशव्यापी बन्द कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सबै क्षेत्रलाई आह्वान गरेको छ।
दुर्गा प्रसाईँ नेतृत्व रहेको अभियानले शुक्रबार जारी गरेको विज्ञप्तिमा २५ बुँदे माग राख्दै तोकिएको तिथि मंसिर ७ मा सम्पूर्ण उद्योग–धन्दा, कलकारखाना, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय, शैक्षिक संस्था र यातायातका सेवा बन्द भई नागरिक स्तरबाट दबाब सिर्जना गर्न निर्णय भएको उल्लेख छ।
विज्ञप्तिमा सबै संघ–संस्था, नागरिक, समर्थक तथा सरोकारवाला पक्षलाई विशेष सावधानी अपनाई आन्दोलनमा साथ दिन र अभियानका कार्यक्रमहरू अनुशासित ढंगले सञ्चालन गर्न अनुरोध गरिएको छ।

महानअभियानले बन्दका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट वा अवाञ्छित गतिविधि नगर्न स्पष्ट सचेत गराउँदै त्यस प्रकारका घटनामा अभियान स्वयं जिम्मेवार नहुने भन्दै जनस्तरमा संयमता अपनाउन अपिल गरेको छ।
आज पनि दुर्गा प्रसाईँलगायत राजावादी टिमले काठमाडौंमा प्रदर्शन गरेकाे थियाे । प्रसाईँ अहिले प्रहरी हिरासतमा रहेका छन् । उनले पक्राउ नपर्दै आन्दाेलनकाे घोषणा गरेका थिए ।
विज्ञप्ति संयोजन सचिव प्रेमप्रसाद लिङ्देन र संयोजक प्रवक्ता माधव काफ्लेतर्फबाट जारी गरिएको हो।
Facebook Comments